काठमाडौँ उपत्यका खानेपानी साउन १ गतेदेखि कम्प्युटर प्रणालीमा

अस्ट्रेलियन वाटर युटिलिटीसँग पनि सहकार्यको पहल हुँदै

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लि (काउखालि) आगामी साउन १ गतेदेखि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण जस्तै कम्प्युटर प्रणालीमा जाने भएको छ ।

कम्प्युटर प्रणालीमा गएपछि उपत्यकाका जुनसुकै कार्यालयबाट पानीको महसुल तिर्न सकिनेछ । साउनदेखि नै लिमिटेडका ‘मिटर रिडर’ ले पनि प्राधिकरणले जस्तै स्थलगत रुपमै ‘बिलिङ’ गर्ने प्रविधि प्रयोग गर्ने प्रवक्ता सुरेश आचार्यले राससलाई जानकारी दिएका छन ।

उनले भने–‘छ महिनापछि घरमा मिटर रिडर ‘बिलिङ’ गर्न गएका बेला ‘बिलिङ’ यन्त्रमा ‘स्मार्ट कार्ड’ छिराएर उपभोक्ताले पैसा तिर्न सक्ने प्रविधि भित्रिँदैछ, यो प्रविधि सञ्चालनका लागि लिमिटेडका छ जना उच्च तहका अधिकृतलाई भारतको नयाँ दिल्लीमा तालिम लिन पठाइँदैछ, तालिमप्राप्त जनशक्तिले फर्किएर सबै कर्मचारीलाई यो प्रविधि सिकाउनेछन् ।’

लिले मेलम्चीको पानी उपत्यकामा आएपछि वितरणका लागि दक्ष जनशक्ति पूर्ति गर्ने कामलाई पनि तीव्रता दिएको छ । हाल एक हजार कर्मचारी लिमा कार्यरत

छन् ।

पानी सुन्दरीजल प्रशोधन केन्द्रमा झरिसकेपछि सञ्चालनका लागि प्राविधिकसहित ३०० कर्मचारी पूर्ति गरिएको छ । थप १२८ कर्मचारी पूर्तिका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भइरहेको प्रवक्ता आचार्यले बताए ।

नयाँ भर्ना भएका र भर्ना हुने प्रक्रियामा रहेकामध्ये ७८ प्राविधिक कर्मचारी छन् । हालसम्म मेलम्ची खानेपानी आयोजनाले असोजसम्म पानी ल्याई वितरण गर्ने लक्ष्य राखेकाले त्यसअघि नै कर्मचारी नियुक्ति गरिसक्ने गरी प्रक्रिया अघि बढिरहेको छ ।

हाल दैनिक १३ करोड लि पानी वितरण गर्दै आएको लिले मेलम्चीको १७ करोड लि पानी थपिएपछि ३० करोड लि पानी वितरण गर्नुपर्नेछ ।

मेलम्ची आएपछि पानी वितरण गर्न सक्ने गरी लिको सङ्गठनात्मक संरचना पुनरवलोकन अन्तिम चरणमा पुगेको उनले सुनाए ।

लिमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) को सहयोगमा तालिमको आयोजना गर्ने तयारी भएको छ ।

जनशक्तिको क्षमता वृद्धिकै लागि अस्ट्रेलियन वाटर युटिलिटीसँग पनि सहकार्यको पहल भइरहेको लिले जनाएको छ । रासस