संविधान संशोधन प्रक्रियाबाट सरकार पछि हट्यो

काठमाडौं । दुई तिहाइ मत नपुग्ने भएपछि संविधान संशोधन विधेयकलाई तत्काल मतदानमा नलैजाने निर्णयमा सरकार पुगेको छ ।

मंगलबार बिहान एमालेसँगको बैठकपछि सरकार यस्तो निर्णयमा पुगेको हो । सरकारको यस्तो निर्णयप्रति आक्रोशित हुँदै साँझ राजपा नेताहरू बालुवाटार गएका थिए । तर सत्तापक्षले आफैं विवश रहेको बताएपछि फर्कंदा उनीहरूको स्वर मत्थर भएको थियो ।

मंगलबार बिहान एमालेसँग वार्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुई तिहाइ नपुग्ने भएपछि अब संविधान संशोधनको सट्टा मन्त्रिपरिषद् विस्तार पहिले हुने बताएका थिए ।

देउवाको यस्तो भनाइ सुनेर क्रुद्ध राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले ‘सरकारले आफूहरूलाई प्रक्रियाभन्दा बाहिर राख्न अनेक निहुँ बनाइरहेको’ आरोप लगाए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।