आयुक्तहरूलाई महँगो गाडी ?

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ ।

तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई सरुवा गरी कामुसचिवमा महेश्वर न्यौपानेलाई आयोगमा ल्याइएपछि गाडी खरिद प्रक्रिया सुरु गरिएको छ ।

आयोगले शुक्रबार एक दैनिकमा विज्ञापन प्रकाशन गरी ५ वटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको छ । प्रत्येक आयुक्तलाई एक करोडसम्मको गाडी खरिदका लागि १९ साउनभित्र आवेदन दिन आयोगले टेन्डर आह्वान गरेको हो । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।