अध्यक्षले ४२ केन्द्रीय सदस्य मनोनीत गरेपछि राप्रपा विवाद उत्कर्षमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्ष कमल थापा र पूर्वअध्यक्ष पशुपतिशमशेर राणा समूहबीचको मतभेद उत्कर्षमा पुगेको छ । अध्यक्ष थापाले ४२ नेतालाई बिहीबार केन्द्रीय सदस्य मनोनीत गरेपछि राणाले विज्ञप्ति निकालेर विरोध मात्र जनाएनन्, पार्टीलाई बिर्ता नठान्न चेतावनी पनि दिएका छन् ।

‘केन्द्रीय तहका नेतागणहरूलाई सुुइँकोसमेत नदिई अप्रत्याशित रूपमा केन्द्रीय समिति विस्तार गरिएको घटनाले विस्तारअघिको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको अस्तित्व र उपस्थितिलाई पूर्ण रूपमा नकारेको मात्र नभई राप्रपालाई अध्यक्षको एकल बिर्तामा रूपान्तरण गरिएको सन्देश प्रवाहित गराइएको छ ।

वरिष्ठ नेता राणाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ–‘म यस कार्य र प्रवृत्तिको घोर निन्दा र भत्र्सना गर्दछु ।’ । राणाले ४ साउनमा निर्वाचनको रणनीतिलगायत सबै विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको अवस्थामा केन्द्रीय समिति विस्तार गर्नु औचित्यहीन भएको उल्लेख गरेका छन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।