किन गर्दैछ ट्राफिक प्रहरी चालकका गल्तीलाई बेवास्ता ?

काठमाडौं । गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर रसिद थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन। सवारीसाधन व्यवस्थापनमा खटिएका उनीहरू चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन्।

गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन। केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै रोकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु चालकको गल्ती लाग्न छाडेको छ।

उपत्यकाभित्र ट्राफिकले कडाइ गर्न छाड्नुको कारण हो– उनीहरूले पाउँदै आएको प्रोत्साहनभत्ता कटौती। व्यवस्थापिका संसद् विकास समितिको निर्देशनपछि ट्राफिक प्रहरीले पाउँदै आएको १५ प्रतिशत प्रोत्साहन भत्ता कटौती भएको छ। यसअघि उनीहरूले कारबाहीबापत उठाएको रकमबाट १५ प्रतिशत प्रोत्साहन भत्ता पाउँदै आएका थिए।

प्रोत्साहनभत्ता कटौती भएपछि ट्राफिक प्रहरीले सवारीसाधन व्यवस्थापनमा बेवास्ता गर्दा त्यसको मार सर्वसाधारणले खेप्नुपरेको छ। उपत्यकाभित्र केही दिनदेखि बढेको ट्राफिक जाम पनि ट्राफिक प्रहरीको प्रोत्साहनभत्ता कटौतीसँग जोडिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।