ट्रम्प जुनियरसँगको बैठकमा रुसी गुप्तचरको संलग्नता भएको खुलासा

निजी अभिलेखहरुलाई ह्याक गर्न खोजेको आरोप

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वरिष्ठ सहयोगी र ट्रम्प जुनियरसँग अघिल्लो वर्ष भएको एउटा बैठकमा एक जना पूर्व सोभियत गुप्तचर अधिकारी पनि संलग्न रहेको सार्बजनिक भएको छ।

सो भेटमा सहभागी भएका भनिएका रिनाट अख्मेटशीनले आफूले गुप्तचर हेर्ने रुसी सैनिक इकाइमा काम गरेको तर कहिले पनि जासूसीको औपचारिक तालिम नलिएको बताएका छन्।

न्युयोर्कमा भएको उक्त बैठकमा ट्रम्पका ज्वाईँ ज्यारेड कुश्नर र चुनावी अभियानका अध्यक्ष पल म्यानफोर्टपनि सहभागी थिए।

ट्रम्पको चुनावी अभियानका सहयोगीहरु र रुसी व्यक्तिहरुबीच भएका गैर कुटनीतिक सम्वादको अहिलेसम्म प्राप्त सबैभन्दा बलियो प्रमाणका रुपमा उक्त भेटघाटलाई लिइएको छ।

सन् २०१५ मा वाशिङटन डीसीको एउटा अदालतमा दायर मुद्दामा खानीसम्बन्धी कम्पनीले आफ्ना निजी अभिलेखहरुलाई
ह्याक गर्न खोजेको आरोप उनीविरुद्ध लगाएको थियो।

अख्मेटशीनले ट्रम्प टावरमा भएको बैठकमा आफू सहभागी भएको बताएका छन् । अदालतको दस्तावेजमा उनले साइबर हमाला गर्ने योजना बुनेको आरोप लगाइएपनि उनले त्यसलाई अस्वीकार गरेका छन्।

डोनल्ड ट्रम्प जुनियरका इमेलका अनुसार राष्ट्रपति पदकी उम्मेदवार हिलरी क्लिन्टनलाई क्षति पुर्याउने सामाग्री उपलब्ध गराउने प्रतिबद्धता उक्त बैठकमा गरिएको थियो।

तर त्यो विवरण बाहिर आएपछि राष्ट्रपति ट्रम्पका जेठा छोराले उक्त भेटघाटलाई साधारण खालको भेटका रुपमा प्रस्तुत गरिरहेका छन्।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)