साउन १ गतेदेखि मतदाता नामावली संकलन

हेटौँडा । जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गरिने भएको छ ।

कार्यालयका अनुसार प्रदेश नं ३ अन्तर्गत पर्ने मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा एक एक नगरपालिका र उपमहानगरपालिका क्षेत्रका बासिन्दाको नयाँ मतदाता नामावली संकलन गरिने भएको छ ।

साथै साउन १६ देखि २० गतेसम्म तस्बिरसहित नाम, अद्यावधि गरिनाका साथै नामावलीको संशोधन पनि गरिने कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले राससलाई बताएका छन ।

उनका अनुसार सम्बन्धित वडामा बसोबास गर्ने व्यक्तिको नागरिकता, विवाहिता महिलाका हकमा विवाह दर्ता एवं अन्य जिल्लाबाट बसाइँ सरी आएका व्यक्तिका परिवारले बसाइँसराइ दर्ताको प्रमाण ल्याएमा नयाँ मतदाता नामावलीमा नाम समावेश हुने छ ।

विसं २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा दुई लाख २७ हजार पाँच सय ५९ मतदाता रहेको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन कार्यालय भवन हेटौँडाबाट मात्र नयाँ मतदाता नामावली संकलन गरिने छ । रासस