बुधबारभित्रै सरकार विस्तार गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलोमा बुधबारसम्ममा सरकार विस्तार गर्ने तयारी गरेका छन् । प्रमुख सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच सोमबार भएको छलफलपछि प्रधानमन्त्री सरकार विस्तारको तयारीमा लागेका छन ।

दुई दल सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुई दलीय कार्यदलबीच एक–दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको हो ।

कार्यदलमा सकारात्मक कुराकानी भएको छ, कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने–‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भन्ने सहमतिमा पुगेका छौँ ।’

माओवादी अध्यक्ष प्रचण्डसँग सोमबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिले भेटेपछि बेलुका दुईदलीय कार्यदलको बैठक सिंहदबारमा बसेको थियो ।

सोही बैठकले टुंगो लाग्न बाँकी मन्त्रालयमा दलीय भागबन्डा मंगलबार नै मिलाएर बुधबारसम्म सरकार विस्तार गर्नेमा सहमति जनाएको नेता लेखकको भनाइ छ ।

उनका अनुसार मंगलबार बिहानैबाट कार्यदल बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्नेछन् । त्यसपछि दलको भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्रीको टुंगो लगाउनेछन् ।

कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सम्मिलित कार्यदलको बैठक सोमबार बेलुका झन्डै दुई घन्टा चलेको थियो ।

माओवादी प्रवक्ता पम्फा भुसालले पनि ढिलोमा बुधबार सरकार विस्तार हुने बताइन् । हाम्रो दलमा समस्या छैन । अब कांग्रेसभित्रको समस्या मिलेपछि दुई दिनमा विस्तार हुन्छ, उनले भनिन्–‘सके मंगलबार नै नभए अब ढिलोमा बुधबार सरकार विस्तार गर्छौं ।’ यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।