प्रधानमन्त्री देउवाको पार्टी भित्रैबाट चौतर्फि आलोचना

केन्द्रीय कार्यसमिति बैठक बोलाउन दबाब

काठमाडौं । प्रधानमन्त्रीमा जेठ २३ गते निर्वाचित भएर २४ मा कार्यभार सम्हालेका शेरबहादुर देउवाले डेढ महिना हुन लाग्दासमेत मन्त्रिमण्डलसम्म पनि विस्तार गर्न सकेका छैनन् ।

देउवाको अति सुस्त काम गर्ने शैलीप्रति उनकै पार्टी कांग्रेसका नेताहरूसमेत रुष्ट हुन थालेका छन् । उनको यस्तै सुस्तता कायम रहे आगामी माघ ७ भित्र प्रदेश र संघीय संसद्को चुनाव हुनेमा शंका बढ्न थालेको कांग्रेसकै नेताहरूले बताएका छन् ।

‘प्रदेश र संघीय संसद्को चुनावका लागि सरकार क्षेत्र निर्धारण आयोग गठन गरेर तयारीमा जुटिसक्नुपर्ने हो । कांग्रेसकै एक शीर्ष नेताले भने–‘मन्त्रिपरिषद्लाई पूर्णता दिनसमेत डेढ महिना बिताउने हो भने कसरी माघ ७ भित्र बाँकी दुवै तहको चुनाव होला भनेर विश्वास गर्ने ।’

देउवाले आफ्नै निजी सचिवालयलाई समेत अहिलेसम्म पूर्णता दिन सकेका छैनन् । परराष्ट्र, सञ्चार र स्वकीय सचिवबाहेक महत्त्वपूर्ण मानिने राजनीतिक र आर्थिक सल्लाहकारसमेत नियुक्ति गर्न सकेका छैनन् ।

प्रधानमन्त्रीको सुस्त काम गर्ने शैलीप्रति पार्टीभित्र रामचन्द्र पौडेल पक्ष मात्र होइन, देउवा निकट नेताहरूसमेत असन्तुष्ट छन् ।

पौडेल पक्षले स्थानीय तहको चुनावको समीक्षा, प्रदेश र संघीय संसदको चुनावको तयारी र मन्त्रिमण्डल विस्तारलगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन देउवालाई दबाब दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।