अन्तर्घातीलाई कारबाही हुन्छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले अन्तर्घात का कारण स्थानी तहको पहिलो र दोस्रो चरण निर्वाचनमा पार्टी दोस्रो भएको बताएका छन्।

स्थानीय तहको तेस्रो चरण निर्वाचन तयारीका क्रममा बिहीबार प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य,  जिल्ला र क्षेत्रीय सभापतिको भेलालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले उक्त कुरा बताएका हुन । उनीहरूले अब पार्टीलाई पहिलो बनाउनेगरी चुनाव तयारीमा जुट्न निर्देशन दिए।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ का जिल्लामा असोज २ गते हुने तेस्रो चरण निर्वाचनमा पार्टी पहिलो हुनुपर्ने र त्यसका लागि व्यक्तिगत स्वार्थ छाडेर लागिपर्न आग्रह गरे।

निर्वाचनमा उम्मेदवार हुने आकांक्षा राख्नु स्वाभाविक हो । देउवाले भन–‘आफूले टिकट पाएमात्र जितिने भन्ने भ्रम नपाल्नुस्। टिकक नपाउनेका लागि पनि अन्य अवसर आउँछन’

पार्टीभित्रकै अन्तर्घातका कारण पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकिएको बताउँदै देउवाले अन्तर्घातमा संलग्नलाई कारबाही गर्ने पनि बताए । उनले भने–‘कारबाही नगरे पार्टीमा ठूलो क्षति हुन्छ, चुनावका अन्तर्घातीलाई पार्टीले कारबाही गर्छ र काम गर्ने नेता तथा कार्यकर्ता पुरस्कृत हुनेछन ।

नेता रामचन्द्र पौडेलले सम्पन्न स्थानीय निर्वाचनमा केन्द्रबाट उम्मेदवारी छनोटमा त्रुटि भएको स्वीकार गर्दै अब स्थानीय तहबाटै उम्मेदवार टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।

केन्द्रले उम्मेदवार टुंगो लगाउँदा मेरो र तेरो भन्ने हुने भन्ने भन्दै पौडेलले थपे स्थानीय तहबाट टुंगो लागेका उम्मेदवारले जितेका छन । केन्द्रले छानेका उम्मेदवार पराजित भएका छन । अब तलैबाट उम्मेदवार छान्न सके राम्रो हुन्छ ।

कांग्रेस मधेसबाटै जन्मिएकाले प्रदेश नम्बर २ को चुनावपछि पार्टी पुनः पहिलो बन्ने विश्वास उनले व्यक्त गरे।  कांग्रेस, मधेस र लोकतन्त्र पर्यायवाची हुन्,

पौडेलले भने–‘कांग्रेसले नै मधेसलाई न्याय दिन सक्छ। हामीविरुद्ध एमालेले छरेको भ्रम छिचोलेर अघि बढ्नुपर्छ ।’

महामन्त्री शशांक कोइरालाले स्थानीय तह निर्वाचनमा अवसर नपाएका नेता कार्यकर्तालाई प्रदेश र केन्द्रीय संसदको निर्वाचनमा अवसर दिनुपर्ने बताए।

२ नम्बर प्रदेशको निर्वाचनपछि कांग्रेस पहिलो पार्टी हुने बताउँदै कोइरालाले भने–‘त्यही लक्ष्यका साथ हामी सबै अघि बढौँ अब ।’

नेता विमलेन्द्र निधिले असोज २ गते हुने प्रदेश दुईको स्थानीय निर्वाचनमा पार्टीले एक सय सिट जित्नुपर्ने धारणा राखे। एकताबद्ध भएर लागे कांग्रेस पहिलो पार्टी बन्ने बताउँदै निधिले सप्तरी र सिराहाबाहेक ६ जिल्लाका ९६ स्थानीय तहमध्ये १९ मा मात्रै एमालेको प्रभाव रहेको दाबी गरे।

उनले भने–‘असोज २ को चुनाव सफल पारौं र, त्यहाँ बहुमत प्राप्त गर्ने मात्र होइन, राष्ट्रिय रिजल्टमा नै क्षतिपूर्ति हुनेगरी लिड गरौं ।’

भेलामा जिल्ला सभापति र अन्य सहभागीले संविधान संशोधन प्रस्तावलाई निर्वाचनअघि नै टुंगोमा पुर्‍याउन नेतृत्वलाई सुझाए। सहभागीले धारणा राख्ने क्रम नसकिएका भेला शुक्रबार पनि हुने भएको छ ।

यसैबीच, सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक दुई दिनअघि शनिबार नै बस्ने भएको छ। मन्त्रिपरिषद् विस्तारमा जुट्नुपर्ने भएकाले बैठक शनिबार बिहान ८ बजेका लागि सारिएको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।