‘सिँचाईको अभावले तराईका कृषक समस्यामाः खेतीबाली सुक्दै, जमिन फाट्दै’

आम प्रश्नः कहिले होला कृषिमा सुधार ?

बाँके । बर्दिया, बाँके, कैलाली लगाएत तराईका अधिकाशं क्षेत्रहरुमा कुलो तथा प्राकृतिक जलश्रोतको अभावका कारण बर्षेनी कृषकहरुले आकासे पानीको भरपर्नुपर्ने बाध्यता रहेको छ । आवश्यकता अनुसार पानी नपरेपछि अहिले धान लगाइएका खेतहरुमा जमिन फाट्दै गएको छ, जस्का कारण अधिकाशं कृषकहरु चिन्तामा परेका छन ।

राजनीतिक ब्यवस्थामा परिवर्तन भएपनि गरीखाने वर्गको लागि भने सरकारले सोच जस्तो सेवा सुविधाहरु प्रदान गर्न नसकेका कारण बर्षेनी कृषि प्रधान देशका आम कृषकहरुले यस्तो सास्ती भोग्नु परेको उनीहरुले बताएका छन ।

बाँकेका कृषकहरुले आफ्नो पिडालाई यसरी सुनाए–‘खेती गरेर परिवार पाल्न पनि नसकीने भो, पानी नपरेपछि खेती लगाएको जमिन फाट्दै गएको छ । यसपाली धान नफल्ने भो, बालबच्चा भोकै हुने भए, कसरी परिवारको गुजारा चलाउने होला ।’

सिचाईको राम्रो व्यवस्था नहुदा तराईका अधिकाशं क्षेत्रमा रोपिएको धान दिन प्रतिदिन सुक्दै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव किसानको जन जीवनमा पर्न गएको देखिन्छ । यस क्षेत्रका किसानहरुले सिचाईका कारण भोग्दै आएको पिडा यसपाली झनै बढेको उनीहरु बताउँछन ।

भाषणमा नयाँ नेपाल बनाउँन भ्याएका राजनीतिक दलहरु र तिनले गठन गरेको सरकारले स्थानीय कृषको समस्या भने बुझेको देखिदैन । दलका नेताहरुले निर्वाचनको मुखमा होस वा राजनीतिक भाषण गर्दाको समयमा होस्, स्थानीय विकास र किसानलाई सेवा, सहुलियत दिने कुराको कबुल गर्न कहिल्यै छुटाउदैनन र त्यसको ब्यवहारीक रुपमा कार्यान्वयन पनि गरिरहेका छैनन, तसर्थ खोक्रो आदर्श र झुट्टा आश्वसनबाट यस क्षेत्रका कृषकहरु आक्रान्त भएको बताउँछन ।

त्यसो त बाँकेमा सिँचाइको व्यवस्था गर्ने भनेर योजना नआएको पनि होइन, सुरुगरिएको काम अझै सुख्खा नहरमै सिमित भएको छ । बाँकेको कृषि योग्य क्षेत्र मानिने हिर्मिनिया, सीतापुर, बन कटुवा, बागेश्वरी, राधापुर, बिनौना, गंगापुर, बैजापुर लगाएतका क्षेत्रमा सरकारले सिंचाई पुर्याउन नसक्दा किसानहरुले अपेक्षाकृत रुपमा उब्जनी गर्न सकेका छैनन् ।

भूमिगत जल बिकाश परियोजनाले बाँकेमा २० बर्षदेखि सिचाइमा लगानी गर्दै आएको छ तर, हाल आएर यो परियोजना पनि सक्रिय नभएको खजुरा गाँउपालिका २ का कृषक हिमलाल कंडेल बताउँछन । कंडेल भन्छन–‘बोरिङ्ग बिग्रेको पनि ४ बर्ष भैसक्यो, सरकार कानमा तेल हालेर बसेको छ । न नहरको सुविधा छ, न बोरिङ्गको । आकाशे पानीको भरमा हामी खेति गरिरहेका छौ ।’

बाँकेकै अर्का सक्रिय कृषक कृष्ण बहादुर खत्री भन्छन–‘सिंचाईको नाममा डीप ट्युवेल थियो, त्यो पनि बिग्रियो । भूमिगत सिंचाईको अफिसमा जानकारी गराउँदा, हामीले तपाईहरुलाई हस्तान्तरण गरिसक्यौ, अब आफै बनाउन भनेर भनियो, हामीले बनाउने प्रयास पनि गर्यौ तर सफल हुन सकेनौ । खडेरीले लगाएको बाली दिन प्रति दिन सुक्दै गएको छ ।’

त्यस्तै पिडा बर्दियाका कृषकहरुको पनि रहेको छ । बर्दियाको नेउलापुर ४ का कृषक श्रीराम थारुले अझै कुलो, नहर नपुगेका कारण खेतीपातिमा समस्या भोग्नु परेको बताए । उनले कुलो, नहर नपुगेकाले आकाशको पानी वा चर्को मूल्यमा बोरिङ्गको प्रयोग गर्नु परेको जनाएका छन ।

लगाएको खेतीपाति पनि प्रर्याप्त पानीका कारण सुक्न थालेपछि चिन्तित बनेका कृषकहरुको समस्या कहिले समाधान होला ? राज्यले कृषि प्रधान देशका कृषकको हितमा कहिले योजना, परियोजनाहरु सञ्चालन गर्ला, त्यो भने हेर्न बाँकी नै छ ।