बालिका बिक्रीको अभियोगमा ‘ठिले’ पक्राउ

बिक्रि कार्यमा संलग्न चार जना फरार खोजी कार्य जारी

नुवाकोट । बाह्र वर्षीया बालिकालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा घ्याङफेदी–७ का ४४ वर्षीय मानबहादुर तामाङ ‘ठिले’लाई प्रहरीले पक्राउ गरेको छ ।

ठिलेमाथि ती बालिकालाई दस वर्षअघि भारतमा लगेर बिक्री गरेका अभियोग लागेको छ । उनका विरुद्ध १० भन्दा बढी महिलालाई भारतमा लगेर बिक्री गरेको उजुरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा परेको प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिएका हुन ।

नुवाकोटको घ्याङफेदीसहित मकवानपुरको साविक हाँडिखोला गाविस वडा नं। १ चकरीमकरीमा समेत बस्ने गरेका ठिलेको मुख्य पेशा मानव बेचविखन रहेको प्रहरीले जनाएको छ ।

नुवाकोटका ती बालिकालाई काठमाडौँमा काम लगाइदिने भन्दै २०६५ साल वैशाखमा ठिलेसहित पाँच जनाको टोलीले भारतको कोलकत्तामा लगेर बिक्री गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

भारतीय प्रहरीले त्यहाँको एक वेश्यालयमा छापा मार्दा बेचिएको एक महिना पछि नै ती बालिकालाई उद्धार गरी ‘नेपाल गृह’ नामक संस्थाको संरक्षणमा राखिएको थियो ।

दुई वर्षसम्म ती संस्थाको संरक्षणमा रहेकी ती बालिका विसं २०६७ देखि काठमाडौँस्थित ‘नेपाल गल्र्स’ नामक संस्थाको संरक्षणमा बस्दै आएकी छिन् ।

नुवाकोटका दुई युवतीलाई भारतमा लगेर बिक्री गरेको प्राप्त उजुरीको आधारमा दलाल खोजी गर्दै जाँदा ठिले पक्राउ परेको प्रहरी उपरीक्षक बोहराले बताएका छन ।

बालिकालाई आफूले बिक्री गरेको स्वीकार गरेकाले ठिले विरुद्ध जिल्ला अदालत नुवाकोटमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको मुद्दा दर्ता गरेको उनले बताईन ।

बालिकालाई भारतमा लगेर बिक्री गर्ने कार्यमा संलग्न अन्य चार जना अझै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि नुवाकोटबाट दुई महिलालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

आवश्यक कानुनी कारबाहीका लागि पक्राउ परेका दुबै जनालाई भारतबाट नुवाकोट ल्याउन लागिएको पनि प्रहरीले जनाएको छ । रासस