कोशी नदीमा माछा मार्न गएका युवक कोशीमा बेपत्ता

खोजी कार्य जारी

सप्तरी । माछा मार्न गएका सप्तरी, हनुमानगर कंकालनी नगरपालिका–१४ का १६ वर्षीय ललन मण्डल तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा बेपता भएका छन् ।

माछा मार्ने क्रममा कोशीले बगाउँदा बेपत्ता मण्डलको इप्रका हनुमानगर र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

आगलागीबाट रु चार लाख क्षति
कंचनरुप नगरपालिका–३ मा आज आगलागी हुँदा रु चार लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी किसुन यादवका घरमा विद्युत् चुहिई आगलागी हुँदा निजको फुसको छानो भएको एक तले घर, घरभित्र रहेका सम्पूर्ण सरसामान, अन्नपातलगायत जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले बताएका हुन ।

त्यस्तै आगामा परी गाईको एउटा बाच्छो जलेर मरेको प्रहरीले जनाएको छ । इप्रका कंचनपुरका प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।

यस्तै सर्पको डसाइबाट गए राति फत्तेपुरमा दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी त्रिकोलमा कार्यरत प्रहरी हवल्दार रामबहादुर भुजेल घाइते भएकामा उपचारका लागि सर्पदंश केन्द्र पूर्वी पृतना इटहरी पठाइएको प्रहरीले जनाएको छ । रासस