नक्कली कागजातका आधारमा १० लाख राहत

काठमाडौं । दस वर्षे सशस्त्र द्वन्द्वबाट छोराको मृत्यु भएको नक्कली कागजातका आधारमा साविकको श्रीकृष्णगण्डकी–९ की गीता भट्टराईले १० लाख रकम बुझेकी छन् ।

आफ्नो छोरा राजेन्द्रको द्वन्द्वको क्रममा माओवादीले हत्या गरेको कागज बनाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको पाँचौ प्रतिवेदनमा द्वन्द्व प्रभावितको नामावलीमा नाम अंकित गरी उनले राहत रकम लिएकी हुन् ।

१३ जेठ २०४८ मा मृत्यु भएको छोराको पाँच वर्ष पछाडि १३ जेठ ०५३ मा मृत्यु दर्ता गराई सरकारको ढुकुटीको दुरुपयोग गरेको स्थानीय इन्द्र थापाले बताए ।

उनले मृतक राजेन्द्र र छिमेकी रेश्मीराज भट्टराई आँप खान बगैँचामा गएका बेला आँप झार्न रेश्मीले फालेको झटारोले रुखमा गएका राजेन्द्रलाई लागेर घाइते हुँदा धेरै रगत बगेर मृत्यु भएको बताए ।

झटारोले लागेर राजेन्द्रको मृत्युपछि दोषी ठहरिएका रेश्मीलाई भवितव्य मुद्दामा अदालतले दुई वर्ष जेल सजाय तोकी भुक्तानी गरेको अदालतको तथ्यांकमा उल्लेख छ ।

सजाय भोगेका बलराम भट्टराईका छोरा रेश्मी भारतमा जागिर गएको अवस्थामा मृत्यु भइसकेको छ । धेरैले राज्यको पैसाको दुरुपयोग गरेको बताउँदै मृतक राजेन्द्रका भाइ दिनेशले द्वन्द्व प्रभावितको नाममा रकम लिएको स्वीकारे । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।