रुस विरुद्धको प्रतिबन्ध प्रस्ताव पारितः राष्ट्रपति ट्रम्पलाई समस्या

विधेयकको पक्षमा ४१९ मत

अमेरिका । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनल्ड ट्रम्पको विरोध रहेपनि रुसमाथि नयाँ नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको छ।

नयाँ विधेयकले रुससँग सम्बन्ध सुधार्ने राष्ट्रपति ट्रम्पको योजनालाई समस्यामा पार्न सक्छ । रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन अमेरिकाको तल्लो सदनमा मतदान भएको हो।

विधेयकको पक्षमा ४१९ मत विपक्षमा ३ मत मात्रै परेको थियो। यो विधेयकले रुससँग सम्बन्ध सुधार्ने राष्ट्रपति ट्रम्पका आशालाई समस्यामा पार्ने ठानिएको छ।

रुसी संसद ड्यूमाको अन्तर्राष्ट्रिय मामिला समितिका सदस्य लेओनीड स्लुट्स्कीले अमेरिका रुसको सम्बन्ध नयाँ प्रतिबन्धले जटिल बनाउने बताए।

विधेयक राष्ट्रपतिकहाँ हस्ताक्षर गर्न पठाउनु अघि सिनेटले पारित गर्नुपर्नेछ। ह्वाइटहाउसले उक्त विधेयक समीक्षा गरिरहेको बताएको छ। यदि विधेयक सिनेटबाट पनि पारित भयो भने रुसप्रति झुकाव राख्ने भनिएका ट्रम्प समस्यामा पर्न सक्छन्।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)