संसद्मा लेखा परीक्षण विधेयक प्रस्तुत, बोनस (पाँचौँं संशोधन) विधेयक पारित

संसद्को अर्को बैठक साउन १८ गते   दिनको एक बजे बस्ने

काठमाडौँ । व्यवस्थापिका–संसद्मा ‘लेखा परीक्षण विधेयक, २०७३’ प्रस्तुत भएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सो विधेयक प्रस्तुत गरेका हुन । त्यसअघि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

लेखा परीक्षणको कार्यलार्ई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नयाँ ऐनको जरुरी रहेको अर्थमन्त्री कार्कीले बताए ।

सरकार र ५० प्रतिशत भन्दा बढी सरकारी स्वामित्व भएको निकायको लेखापरीक्षण गर्ने व्यवस्था भएकाले त्यसलाई व्यवस्थित र पारदर्शी बनाउँदै समयानुकूल बनाउन नयाँ ऐन जरुरी रहेको उनको भनाइ थियो ।

हाल मुलुकमा लेखापरीक्षण ऐन, २०४८ अनुसार लेखापरीक्षण कार्य अगाडि बढिरहेको छ ।

बोनस (पाँचौँं संशोधन) विधेयक पारित

यस्तै, अर्थमन्त्री कार्कीले प्रस्तुत गरेको ‘बोनस (पाँचौँ संशोधन) विधेयक, २०७४’ लाई बैठकको बहुमतले पारित गरेको छ ।

उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद् रेवतीरमरण भण्डारीले विधेयक सुधारका लागि दर्जनौँ संशोधन प्रस्ताव दर्ता भए पनि त्यसको कुनै सुनुवाइ नगरी झारा टार्ने हिसाबले नाम र मिति मात्रै परिवर्तन गरेर सदनमा ल्याइएकामा आपत्ति प्रकट गरे ।

अर्का सांसद डिल्लीप्रसाद काफ्लेले किसान र मजदुरलाई आर्थिक रुपमा समृद्ध बनाउनुपर्ने भए पनि सरकारी तलब खाने कोही कसैलाई पनि बोनस दिन नहुने धारणा राखे ।

सांसद चुडामणि जंगलीले विधेयक समयानुकूल नबनाइएको भन्दै उक्त विधेयक थप छलफलका लागि सम्बन्धित समितिमा पठाउन आग्रह गरे ।

यस्तै, अर्थमन्त्री कार्कीले प्रस्तुत गर्नुभएको ‘संघीय आकस्मिक कोष विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

‘वस्तु विनिमय बजारसम्बन्धी विधेयक, २०७३’ लाई पनि बैठकको बहुमतले स्वीकृत ग¥यो । अर्थमन्त्रीले ‘महालेखा परीक्षकको ५४ औँ वार्षिक प्रतिवेदन, २०७३’ पनि सदनमा पेश गरे । व्यवस्थापिका–संसद्को अर्को बैठक यही साउन १८ गते बुधबार एक बजे बस्नेछ । रासस