उत्तर कोरिया जाँदै नेता नेपाल

काठमाडौं । एमाले नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै शुक्रबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्दै छन् ।

एक कार्यक्रमको प्रमुख अतिथिका लागि नेता नेपाल सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकालसहित प्योङयाङ जान लागेका हुन् । सांसदहरू भने बिहीबार नै त्यसतर्फ लागिसकेका हुन ।

उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण विवादास्पद बनेको छ ।

नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण समयानुकूल नभएको भन्दै नेता नेपाललाई उत्तर कोरिया भ्रमण रद्द गर्न आग्रह गरेका थिए ।

जवाफमा नेपालले नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै पूर्वनिर्धारित कार्यक्रम भएकाले भ्रमण रद्द गर्ने मनस्थितिमा आफू नरहेको बताएका थिए ।

उनी इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु नामक कार्यक्रममा सहभागी हुन उत्तर कोरिया जान लागेका हुन् । उक्त कार्यक्रममा विभिन्न मुलुकका प्रभावशाली नेताहरूको उपस्थिति रहनेछ ।

नेपालले प्योङयाङमा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा प्रमुख आतिथ्य स्वीकार गरेकोमा पश्चिमा मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयका अधिकारीसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसपछि परराष्ट्र मन्त्रालयका अधिकारीले नेपाललाई टेलिफोन गरी भ्रमणको उद्देश्यबारे चासो राखेको स्रोतले जनाएको छ । विदेशी कूटनीतिज्ञले घुमाउरो पारामा नेपालको भ्रमण रोकिदिन आग्रह गरेका थिएु, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने–‘हामीले पूर्वप्रधानमन्त्री नेपाललाई नजानु त भन्न सकेनौं ।’

तर, उत्तर कोरियाबारे राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायको धारणा अवगत गराएका छौँ । बाँकी निर्णय उनकै हुनेछ । स्रोतका अनुसार नेपाल भदौ ४ गते स्वदेश फर्कने कार्यक्रम छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।