निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

नेता निधिलाई केही दिन आराम गर्न चिकित्सकको सल्लाह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

मंगलवार (आज) बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उनले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका हुन ।

सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए ।

नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा. राहुल पाठकले जानकारी दिए ।

नेता निधिको आज बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको पत्रकार रामजी दाहालले जानकारी दिए ।

चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् । रासस