पार्टी घोषणा भएको दुई घण्टा नबित्दै संयोजक जीवनमाथि आक्रमणः टाउँकोमा गम्भिर चोट

नेकपाद्धारा आक्रमण गरिएको आरोपः प्रहरीद्धारा अपराधीको खोजी कार्य जारी

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग सम्बन्ध बिच्छेदगरेर बसेको एक समूहले आज भब्य कार्यक्रमका साथ राजधानीमा नयाँ पार्टी घोषणा गरेको दुई घण्टा नबित्दै त्यस पार्टीका संयोजक जीवन खड्कामाथि रड र धारिलो हतियार प्रहार भएको छ ।

नव गठित पार्टीका नेताहरुका अनुसार पार्टी घोषणाको कार्यक्रम सकेपछि पहिलेदेखि बस्ने गरेको (काठमाडौं गार्डेन हाउस) होटेलमा कुराकानी गरिरहेको अवस्थामा संयोजक जीवनमाथि रड, भाला र अन्य धारीलो हतियार सहित एक्कासी आएको एक समूहले आक्रमण गरेको हो ।

भेरी ब्यूरो इन्चार्ज जीवन खड्का, बाँके इन्चार्ज अशोक पोख्रेल, अखिल क्रान्तिकारीका सचिव रामबहादर बिक लगायत विभिन्न नेकपाको जिम्मेवारीमा रहेका नेताहरुको भेलाले आज सोह्रखुट्टे स्थित हजुरको पार्टी प्यालेसमा पार्टी घोषणाको कार्यक्रम आयोजना गरेको थियो । पार्टी घोषणाको कार्यक्रम ३ बजे सकिएको भियो भने आक्रमण ४ः४५ मा भएको बताइएको छ ।

नव गठित नेकपा माओवादीका एक नेताले हरपल नेपाल डटकमसँगको कुराकानीमा उक्त घटनामा नेकपाका कार्यकर्ताहरुको हात रहेको हुनसक्ने बताएका छन । आफुहरुले पार्टी घोषणा गरीसकेको अवस्थामा आन्तरिक समस्याका कुराहरु खुल्ने र धेरै नेता कार्यकर्ताहरु पनि पार्टी छोड्ने अवस्था आएको हुनाले त्यसको बचाउको लागि नेकपाले उक्त घटना गराएको उनको आरोप रहेको छ ।

दिउँसै राजधानीमा धारीलो हतियार बोकेर ज्यान मार्ने प्रयास हुदाँपनि प्रहरी भने बेखबर भएको भन्दै नव गठित नेकपा माओवादीका नेताहरुले आपत्ती जनाएका छन । नेताहरुले घटनामा सलग्न केही मानिसको पहिचान भएको भएपनि त्यसको बारेमा अहिले नै सार्वजनिक नगर्ने बताए । उनीहरुका अनुसार आक्रमणमा आएका मानिसहरु सबै युवा थिए र आाक्रमण पछि पाँच वटा मोटर साइकलमा चढेर गएको आफुहरुले देखेंको बताएका छन ।

आक्रमणबाट प्रकाश शाहीलाई पनि चोट लागेको र उनी ग्रान्डी हस्पीटलमा उपचारपछि अहिले भर्खरै डिस्चार्ज भएका छन भने संयोजक जीवनको टाउँको, ढाँड र हातमा गम्भिर चोट लागेको छ, उनको अहिले मनमोहन अस्पतालमा उपचार भैरहेको छ । अस्पताल श्रोतका अनुसार उनको टाउँकोमा गम्भिर चोट देखिएको छ, अप्रेसनको तयारी गरिएको छ ।

सोह्रखुट्टे प्रहरीका डिएसपी सोमेन्द्रसिंह साठोरले केही समय अघिमात्रै उक्त घटनाको विषयमा आफलाई जानकारी भएको र सोध अनुसन्धानका आधारमा अपराधी पत्ता लगाउने बताए । उनले घटनामा संलग्नहरुको बारेमा थप अनुसन्धान अघि बढाएको र छिट्टै अपराधीलाई कानुनी दायरामा ल्याउने बताए ।