क्रान्तिकारी पत्रकार महासंघले गर्यो पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष सहित प्यानलै लड्ने निर्णय

श्रमजिवि पत्रकारको हक, हित र सुद्धिकरण मुख्य एजेन्डा

काठमाडौं । बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी पत्रकार महासंघले आफ्नै नेतृत्वमा आसन्न पत्रकार महासंघको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

क्रान्तिकारी पत्रकार महासंघको आज बसेको कार्यालय टिमको विस्तारित बैठकले महासंघका अध्यक्ष इन्द्र राउतको नेतृत्वमा पत्रकार महासंघको २५ औ महाधिवेशनमा प्यानसहित भाग लिने निर्णय गरेको हो ।

महासंघको महाधिवेशनमा क्रान्तिकारीको तर्फबाट अध्यक्षमा राउतको उम्म्दवारी रहने बताइएको छ । आज एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी महासंघले श्रमजीवी पत्रकारहरुको हक, अधिकार र रक्षाका लागि अध्यक्षसहित उम्मेदवारी दिने निर्णय गरिएको भन्दै श्रमजिवि पत्रकारहरुको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पक्षमा मतदान गर्न अपिल समेत गरेको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ–‘नेपाल पत्रकार महासंघमा प्रमुख तीन राजनीतिक दलको सिण्डिकेट लाद्ने र पार्टी कार्यकर्ताको भर्ति केन्द्र बनाउने काम भएकोमा पनि हाम्रो संगठनले भण्डाफोर गर्दै आएको सर्वविदितै छ ।

स्थापनाकालदेखि नै हाम्रो संगठनले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको घनग्यारेण्टी, सम्पादकीय स्वतन्त्रता, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, साना लगानीका तथा जनपक्षीय मिडियाहरुको संरक्षण र संवद्र्धन, श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी, मिडियामा वैदेशिक र अपारदर्शी लगानीलाई निषेध तथा जवाफदेहीपूर्ण पत्रकारितालगायतको पक्षमा वकालत गदै आएको छ ।’

हरपल नेपाल डटकमसँग कुराकानी गर्दै क्रान्तिकारी पत्रकार महासंघबाट अध्यक्ष पदका उम्मेदवार राउतले पत्रकार महासंघको सदस्यता शुद्धिकरण हुनुपर्ने विषयलाई आफुहरुले प्रमुखताका साथ उठाएको बताए ।

उनले भने–‘पत्रकार शुद्धिकरणका सन्दर्भमा निष्क्रिय पत्रकारहरुको नवीकरण नगरी सदस्यता खारेज गर्ने तथा गैरपत्रकारहरुको भर्ती रोक्न अल्टिमेटमसहित नेतृत्वको ध्यानाकर्षण गराउने काम पटक पटक गरिए पनि वेवास्ता गर्ने काम भएको छ ।’

क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष नारायण पंगेनीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘महासंघमा शुद्धिकरणका लागि सदस्यता छानबिन आयोग बनाउनुु पर्ने माग अहिले पनि हाम्रो संगठनले उठाउँदै आएको छ । तसर्थ वास्तविक श्रमजीवी पत्रकारहरुको संगठनको पेशागत हकहित र सुरक्षाका लागि आसन्न महाधिवेशनमा श्रमजीवी पत्रकारहरुसँग सहयोगको अपिल पनि गर्दछौं ।’