प्राधिकरणको बैठक भत्ता ३६% ले बढ्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले आफ्नो बैठक भत्ता आफैंले ३६० प्रतिशत बढाएर लिन थालेका छन् ।

ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा बसेको समिति बैठकले सञ्चालकहरूको भत्ता २५ सयबाट बढाई ९ हजार रुपैयाँ पुर्‍याएका हुन् ।

अध्यक्ष तथा सञ्चालकहरूले गत फागुन ११ को बैठकबाट भत्ता बढाई लिन थालेको स्रोतले जनायो । फागुन ११ पछिका हरेक बैठकमा सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा सदस्यसचिव र आमन्त्रित सदस्यले ९ हजारका दरले बैठक भत्ता लिन थालेका छन् ।

प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसहित ७ सदस्य छन् । समितिको बैठकमा ऊर्जा मन्त्रालयका कानुन हेर्ने सहसचिव र आधिकारिक युनियनका प्रतिनिधिलाई समेत आमन्त्रित सदस्यका रूपमा बोलाई भत्ता दिने गरिएको स्रोतले बताएको छ।

घाटामा रहेको प्राधिकरण आफ्ना सञ्चालक समितिका पदाधिकारीलाई सबैभन्दा बढी भत्ता दिने सरकारी निकाय भएको छ ।

नाफामा रहेका सरकारी निकायमध्ये राष्ट्रबैंकले ५ हजार र नेपाल टेलिकमले ४ हजारका दरले सञ्चालकहरूलाई बैठक भत्ता दिने  भएको छ ।

प्राधिकरणजस्तै घाटामा रहेको जनक शिक्षा सामग्री केन्द्रले सञ्चालकहरूलाई बैठक भत्ता २ हजार रुपैयाँ मात्र दिने गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।