संसदीय समिति भन्छ: झापामै ४० करोड घोटाला

झापा । नेपाल आयल निगमले खरिद गरेको जग्गामध्ये झापामा मात्रै ४० करोड रुपैयाँ घोटाला भएको निष्कर्षमा संसदीय समिति पुगेको छ।

निगमले इन्धन भण्डारणस्थल बनाउन खरिद गरेको जग्गामा करोडौं रुपैयाँ भ्रष्टाचार भएको सार्वजनिक भएपछि संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति स्थलगत अनुगमनमा झापा आएर अध्ययन गर्ने क्रममा यो निष्कर्ष निकालेको हो।

झापाको चारआलीमा निगमले खरिद गरेको जमिन अवलोकन, जग्गा बेच्ने जग्गाधनी, जनप्रतिनिधि र सरोकारवालासँगको छलफलमा समितिले यस्तो ठहर गरेको छ।

निगमले किनेको जग्गामा करिब ४० करोड अनियमितता भएको देखियो,ु छानबिन समितिका सदस्य दीपक कार्कीले भने–त्यसको प्रमाण जग्गाधनी र स्थानीय जनप्रतिनिधि छन्।’

जग्गा खरिदमा भएको अनियमितता ढाकछोप गर्न असम्भव भएपछि जग्गाधनीदेखि सञ्चारमाध्यमसम्मलाई धम्क्याउन लागिपरेको आयल निगम नेतृत्वको अनियमितताबारे जग्गाधनीहरूले नै संसदीय समितिसमक्ष मुख खोल्न थालेपछि नयाँ तथ्य बाहिर आएको छ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काको अनियमितताबारे जानकार रहेका समितिका सदस्य त्यस बेला झनै छक्क परे, जब जग्गा किनबेचका क्रममा भएका भित्री खेलहरू फिल्ड मै आएर थाहा पाए। ुकागजात मिलाएर, जग्गाधनीलाई गुमराहमा पारेर तथा एउटा ठूलो सञ्जाल खडा गरेर राज्यकोषमा ब्रह्मलुट गरिएको रहेछु, कार्कीले भने–‘जग्गा खरिदमा ज्यादै गलत काम भएको छ। हामी यही ठहरमा पुगेका छौं।’

मंगलबार र बुधबार जिल्लामा बसेर यसको अनुगमनमा जुटेको संसदीय समितिले जग्गा खरिदमा भएकोे घोटालामा संलग्नलाई त्यसै नछाड्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

आयल निगमले चारआलीमा २३ बिघा ३ कट्ठा १३ धुर जमिन खरिद गर्दा हरेक कट्ठा ९४६३ कट्ठा० को मूल्य १३ लाख ५१ हजार तिरेको छ। जसअनुसार सबै जग्गाको मूल्य ६२ करोड ६१ लाख ८८ हजार ५ सय रुपैयाँ हुन्छ। तर, त्यहाँका स्थानीयले जग्गा बेचेबापत करिब साढे २२ करोड रुपैयाँ पाएका छन्।

बाँकी ४० करोड रुपैयाँ निगमका उच्च अधिकारी र जग्गा एजेन्टले लिएका हुन्। यो पैसा कहाँकहाँ पुगेको छ खोज्नैपर्छ, उनले भने–‘अन्यथा राज्यकोषमा यस्ता ब्रह्मलुट दोहोरिने निश्चित हुन्छ ।’ यो समाचार आजको नागरिक दैनिकमा पत्रिकामा प्रकाशित छ ।