कानुन अभावले निर्वाचन तयारी प्रभावित, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक समितिमै

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित कानुन निर्माणमा भइरहेको ढिलाइले समग्र निर्वाचन तयारी प्रभावित भएको छ । निर्वाचन आयोगले कानुन अभावमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलाई आवश्यक गति दिन नसकेको हो ।

सरकारले मंसिर १० गते एकै दिन दुईवटै तहको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । तर, निर्वाचनका लागि आवश्यक कानुन अझै संसदमा विचाराधीन छन् ।

आयोगले भदौ १ भित्र कानुन उपलब्ध गराउन सरकारसँग माग गर्दै आएको थियो । त्यसका लागि आयोगका पदाधिकारीले पटक–पटक प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षणसमेत गराइसकेका छन् । आयोगले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि सोही अवधिभित्रै मागेको थियो ।

तर, सरकारले आयोगको म्याद १५ दिन थपेपछि अपेक्षाअनुसार प्रतिवेदन आएन । आयोगले बुधबार सरकारलाई प्रतिवेदन बुझाउने सम्भावना छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै पाउने सम्भावना देखिए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐन भने आयोगले पाउने कहिले निश्चित छैन । दुइटै विधेयक व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिमा विचाराधीन छन् । समितिले विधेयकमाथि दफावार छलफल नै थालेको छैन ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनसँग सम्बन्धित कानुन निर्माणमा ढिलाइले निर्वाचन तयारी प्रभावित भइरहेको बताए । आयोगले बनाएको टाइमलाइन मिस भैसकेको छ ।

उनले भने–‘कानुन उपलब्धतामा जति ढिलो हुँदै छ, त्यति नै मंसिर १० को मितिलाई प्रभावित पार्ने सम्भावना बढदै जान्छ अब यति दिन उति दिनभित्र होइन, यथाशक्य छिटो कानुन पाउनुपर्‍यो ।’ उनले कानुन उपलब्धतामा भइरहेको ढिलाइप्रति आयोग गम्भीर रहेको भन्दै त्यसका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराइएको बताए ।

सरकारले यथाशीघ्र कानुन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहार भने त्यस्तो देखाएको छैन । सत्तारूढ दलकै सांसद दिलबहादुर घर्ती राज्यव्यवस्था समितिका सभापति समेत रहेका छन् ।

सत्तारूढ दलकै सांसदहरूले विधेयकहरूमाथि प्रशस्तै संशोधन राखेका छन् । तर, समितिले पास गर्न तदारुकता देखाएको छैन ।

प्रतिनिधिसभा निर्वाचन विधेयकमा करिब डेढ सय सांसदले फरक–फरक ३ सय १२ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा निर्वाचन विधेयकमा पनि यत्ति नै हाराहारी संशोधन परेको छ । कान्तिपुर दैनिकमा प्रकाशित छ ।