सेयरबजारमा नियामक कर्मचारी: नियम छल्दै, सेयर खेल्दै

काठमाडौं । नियामक निकायका बहुसंख्यक कर्मचारी कानुनविपरीत दोस्रो बजारमा सेयर लगानी गर्न व्यस्त हुनुका साथै राष्ट्र बैँकका कर्मचारी सेवा सर्त विनियमावलीसहित विभिन्न कानुनले नियामक निकाय (राष्ट्र बैंक, बिमा समिति, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज) का कर्मचारीले दोस्रो बजारमा सेयर लगानी गर्न बन्देज गरेका छन।

नियामक निकायका कर्मचारीको पहुँच सूचीकृत कम्पनीहरूका आन्तरिक सूचना तथा रणनीतिक योजनामा समेत रहने हुनाले यस्तो बन्देज गरिएको हो ।

तर राष्ट्र बैंकसहित नियामक निकायका कर्मचारीहरूले यसलाई तोडदै सेयरमा ठूलो लगानी गरिरहेका छन् । सूचनामा पहुँचका साथै फोनको भरमा पनि कारोबार गर्न सकिने भएकाले उनीहरूलाई सजिलो भएको जानकारहरू बताउँछन् ।

केही साताअघि राष्ट्र बैंकका एक कर्मचारीले बैंकबाट ऋण लिएर सेयरमा लगानी गरेको भनी व्यवस्थापनसमक्ष उजुरी पर्‍यो । उजुरीका आधारमा व्यवस्थापनले छानबिन सुरु गर्दा ती कर्मचारीले एक वित्तीय संस्थाबाट ओभरड्राफ्ट कर्जा लिएको देखियो ।

सोही समयमा एक कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) जारी भएकाले उक्त रकम सेयरमा लगानी भएको आंशकाका आधारमा उजुरी परेको बुझिए पनि अन्तिम निष्कर्ष आइसकेको छैन ।

प्रवक्ता नारायणप्रसाद पौडेलले भने–‘कुरा उठेपछि आन्तरिक रूपमा सोधखोज सुरु भएको छ, वास्तविकता केही दिनमा थाहा होला ।’ कर्मचारीहरूलाई बैंक तथा वित्तीय संस्थाबाट ओभरड्राफ्ट ऋण लिन छुट भएकाले त्यसकै आधारमा सेयरमा लगानी गर्‍यो भन्न नसकिने उनको भनाइ छ ।

सरकारका उच्च पदस्थ कर्मचारी, राष्ट्र बैंक, बिमा समितिलगायत अन्य नियामक निकायका कर्मचारीले दोस्रो बजारमा सेयर लगानी गरेको नयाँ घटना भने होइन ।

प्राथमिक बजार (आईपीओ) मा भने कानुनी रूपमै उनीहरूले लगानी गर्न पाउँछन् । तर, पछिल्ला वर्ष पदीय मर्यादा र संस्थागत सुशासनको खिल्ली उडाउँदै नियामक निकायका कर्मचारीले सेयरको दोस्रो बजारमा ठूलो रकम लगानी गर्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।