दुई चरणको निर्वाचनप्रति अध्यक्ष ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा गराउने सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

नियमित स्वास्थ्य परीक्षण गराएर थाइल्यान्डबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले दुई चरणबीचको समयान्तर बढी भएको भन्दै आपत्ति जनाएका हुन ।

यसबाट मतपेटिकाको सुरक्षालगायतका विषयमा समस्या पर्ने उनको भनाइ थियो ।उनले भने–‘पहिलो चरणको मत गणना र परिणाम सार्वजनिक गर्दा दोस्रो चरणको चुनाव प्रभावित हुन्छ तर लामो समय मतपेटिका रक्षा गर्न पनि सजिलो हुँदैन र
निर्वाचन सार्ने वा नसार्ने निर्णय निर्वाचन आयोगले गर्नुपर्ने बताउँदै मन्त्रिपरिषद्ले आफ्नो ढंगले गर्ने कुरा होइन।’

ओलीले सत्तापक्षको गतिविधिले समेत दुई चरणको निर्वाचन निष्पक्ष हुनेमा शंका समेत व्यक्त गरे । उनले भने–‘सत्तापक्षका गतिविधिले चुनाव निष्पक्ष होला भन्न सकिन्न । लोकतन्त्र सुदृढ गर्न हामीले स्वच्छता, निष्पक्षता र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनुपर्छ । त्यसका लागि फेरि विश्वासको वातावरण बनाउनुपर्छ।’

ओलीले राजपा कार्यकर्ताले अवरोध जारी राखे प्रतिवाद गर्ने अवस्था आउन सक्ने बताए । उनले एमाले प्रतिवादमा ओर्लिने अवस्था आए त्यसले परिणाम राम्रो नल्याउने चेतावनी दिए ।

ओलीले भने–‘उहाँहरु राजपाले निषेधको जुन राजनीति गरिरहनुभएको छ, एमाले जवाफमा त्यसैगरी ओर्लियो भने उहाँहरुको हालत के हुन्छ ? तर यसको अर्थ एमाले उहाँहरुजस्तै गरी निस्कन्छ भन्ने होइन, एमाले जिम्मेवार पार्टी हो, यसले देशको जुनसुकै भागमा पनि गएर कार्यक्रम गर्छ ।’

राजपाको निषेधको गतिविधिमा सरकारको धारणा के छ, प्रस्ट पार्न उनले माग समेत गरे । रजपा कार्यकर्ताले एमाले नेता माधव नेपाललाई मधेसमा बुधबार कार्यक्रम गर्न अवरोध गरेका थिए ।

त्यसैप्रति लक्षित गरेर ओलीले भने–‘निर्वाचन आयोगलाई सोध्न चाहन्छु, यो निर्वाचन आचारसंहिताभित्र पर्छ की पर्दैन ? उहाँहरुले जारी गर्नुभएको आचारसंहितामा कालो झन्डा देखाउन नपाइने, ढुंगामुडा गर्न नपाइने, अर्काका कार्यक्रम बिथोल्न नपाइने भन्ने पर्छ कि पर्दैन ? राजपाको ध्यानाकर्षण गराएको वा यस्तो नगर्नुहोस् भनेकोसम्म मैले सुन्न पाएको छैन । निर्वाचन आयोगले उहाँहरुलाई भन्न नसक्ने कारण के रहेछ ? ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।