हवाई टिकट पाउनै गाह्रो

काठमाडौं । वर्षायाममा सडक यातायात सञ्चालन नहुँदा हवाई यात्रा यात्रुको बाध्यता भोग्नुका साथै चाडपर्व नजिकिँदै गर्दा हवाई यात्रुको चापसमेत बढ्नुका कारण जहाज पनि पर्याप्त नहुँदा जहिल्यै टिकट पाउन सकस छ र आकस्मिक बिरामीसमेत तत्काल अस्पताल पुर्‍याउन मुस्किल छ ।

संखुवासभाको सभाखोलाबाट हिले जाने कच्ची सडक र चैनपुर–वसन्तपुर हुँदै जाने कालोपत्रे सडक भत्केपछि तुम्लिङटार विमानस्थलमा टिकट लिनेको चाप बढेको हो । कच्ची सडकबाट काठमाडौं पुग्न २ दिन लाग्ने भएकाले अधिकांश यात्रु हवाई यात्रा रोज्न बाध्य छन् ।

चैनपुरका पदम अधिकारी गाडीबाट समयमा नपुगिने अवस्थाले हवाई यात्रा रोजेको बताउँछन् । भाडा महंगो भए पनि हवाई सेवा रोज्नु बाध्यता रहेको छ ।

खाँदबारीका राजीव श्रेष्ठले काठमाडौबाट तुम्लिङटार फर्कन साताअघि टिकट काटे तर पालो नआएको समेत बताएका हुन । उनले भने–‘ जहाज चढ्न यात्रुहरूले सात दिन कुर्नैपर्छ, टिकट पाउन मुस्किल छ ।’ विमानस्थल कालोपत्रे भएपछि तुम्लिङटार आउने निजी कम्पनीका एयरलाइन्स पनि बढेका छन् ।

जिल्ला अस्पतालले रिफर गरेका बिरामीका लागि समेत टिकट पाउन समस्या छ । हवाई टिकट नपाउदा महँगोमा गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ ।

जिल्ला स्वास्थ्य प्रमुख डा. विनीतकुमार झाले भने–‘एम्बुलेन्स पनि भनेका बेला पाइँदैन, तुम्लिङटार विमानस्थलमा दैनिक २ जहाजले सेवा दिए पनि टिकट पाउन समस्या छ । तुरुन्तै काठमाडौंलगायत अस्पतालमा लैजानुपर्ने बिरामी हुन्छन् । गाडीबाट लैजान समस्या हुन्छ । कतिले त बाटैमा ज्यान गुमाउनुपर्छ।’

बिरामीलाई गाडी वा एम्बुलेन्सबाट धरान र विराटनगर लैजान पनि त्यति सहज छैन । सडक कच्ची भएकाले टाढाका अस्पतालसम्म बिरामी लैजादा धेरै खर्च हुने स्थानीय रमेश भट्टराईले बताए ।

गाडी वा एम्बुलेन्स रिजर्भ गरेर लैजाँदा यातायात भाडा मात्रै विराटनगरसम्मको १५ देखि २० हजारसम्म खर्च हुने उनले सुनाए । १४ सय मिटर लामो विमानस्थलको उचाइ समुद्री सतहबाट ४ सय ५७ मिटर छ ।

यो विमानस्थलमा एटिआर ४७ सिटेसम्मका जेट इन्जिन भएका जहाज अवतरण हुन सक्छन् । कालोपत्रेसँगै २ वटा निजी एयरलाइन्स बुद्ध र यतिले दैनिक उडान भर्दै आएका छन् ।

यात्रुको चाप थेग्न नसकेपछि सातामा ४ वटासम्म उडान थप्ने गरेको यति एयरका तुम्लिङटार प्रमुख उमेश चौहानले बताए । उनका अनुसार यात्रुको मागलाई ध्यानमा राखेर सातामा नियमितबाहेक ४ वटासम्म उडान थपिने गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।