जाजरकोटको भेरी नगरपालिकामा एकीकृत कर उठाउन सुरु

जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले वुधबारदेखि एकीकृत सम्पति कर कार्यान्वयन सुरु गरेको छ । सदरमुकाम खलंगामा विशेष कार्यक्रमको आयोजना गरेर करदाताबाट सम्पति कर बुज्दै एकीकृत सम्पति कर कार्यान्वन सुरु भएको हो।

नगरपालिकाको निर्वाचन भएको साढे तीन महिनापछि एकीकृत सम्पति कर सम्बन्धी निर्णय कार्यान्वयन भएको छ । बुधबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधिस लिलाराज अधिकारीले वडा नं ४ का वडाध्यक्ष खम्वजंग शाहलाई सम्पति कर बुझाएको रसिद हस्तान्तरण गरेर एकीकृत सम्पति कर कार्यान्वनको सुरुवात गरें। नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने जनतासँग भएको घर जग्गा र अन्य सम्पतिमा लाग्ने कर निर्धारण गर्दै नगरपालिकाले एकीकृत सम्पति करको सुरुवात गरेको हो ।

वडा नम्वर १३ का वडाध्यक्ष गोपालबहादुुर वटालाको संयोजकत्वमा गठित एकीकृत सम्पति कर मूल्यांकण समितिले एक लाख देखि दुई लाखको सम्पति भए वार्षिक २५ रुपैयाँ, १०लाख भए ३ सय रुपैयाँ, ५० लाख भए चार हजार पाँच सय, १ करोड सम्पति भए १२ हजार ५ करोड देखि माथि भए प्रति हजार दुई रुपैयाँका दरले कर निर्धारण गरिएको छ ।

त्यस्तै नगर क्षेत्र भित्रको जग्गाको पनि मूल्य निर्धारण गरिएको छ । जस अनुसार नगर क्षेत्रको खेती योग्य जमिनको प्रति बिघा ४० हजार देखि १० लाख, आवासीय तथा व्यापारिक क्षेत्रको जग्गाको मूल्य प्रति रोपनी ३ लाख देखि २५ लाख सम्म मूल्य निर्धारण गरिएको छ ।

नगरभित्रको आवासीय तथा व्यापारिक क्षेत्र मध्ये ठाँटीबजार क्षेत्रमा जग्गाको मूल्य सबै भन्दा बढी निर्धारण गरिएको छ । कार्यक्रममा नगर प्रमुख चन्द्रप्रकाश घर्तीले जनताबाट उठेको कर जनताकै हितका लागि प्रयोग हुने भएकोले कर तिरेर राज्य प्रति नागरिकको दायित्व पुरा गर्न सबैमा आग्रह गरे ।

त्यस्तै स्थानीय निकायमा देखिएको भ्रष्टाचारलाई रोकेर जनतालाई सुशासन र परिवर्तनको अनुभूति दिलाउने काम गर्न जनप्रतिनिधिहरूलाई सरोकारवालाहरूले सुझाव दिएका छन् ।

लामो संघर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्रमा जनतालाइ न्यायपूर्ण ढंगले करको दायरामा ल्याउन नागरिक अगुवा केवजंग शाहले सुझाव दिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।