आठ बर्ष बितेपनि न्याय नपाएको मृतक परिवारको गुनासो

सर्वोच्च अदालतमा मुद्दा दायर

तस्बिरः पिडित नाउ परिवार-न्यायको आशामा

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका २ स्थित २०६६ साल चैत्र ३० गते उपभोक्ता समितिको विवाद हुदा दुई जनाको मृत्यु भएको थियो । उपभोक्ता समितिको विवादमा मृतकले अझै न्याय नपाएको भन्दै पीडित परिवारले शनिवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि न्याय दिलाई दिन माग गरेका छन् ।

उपभोक्ता समितिको विवादमा स्थानिय गुलाम हुसेन नाउ र मनसव नाउको मृत्यु भएको थियो । राजनीतिक मुद्दा हो भन्दै राज्यले समेत यसलाई चासोका साथ नहेरेको पीडित परिवारको गुनासो छ ।

घटना भएको ८ बर्ष वितिसक्दा समेत राज्यले पीडित परिवारलाई न्याय दिलाउन त के स्थानिय गुण्डाहरुले बारम्बार धम्की समेत दिने गरेको पीडित परिवारका अकुव अहमद नाउले बताए । अहिले सर्वोच्च अदालमा मुद्दा दायर भएको छ । सर्वोच्च अदालको मुद्दा फिर्ता लिन बारम्बार धम्की आएको अकुवले बताए ।

डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्र चौधरी कै कार्यकर्ताले दैनिक घरमा धम्की दिन आउने गरेको मृतक गुलामकी श्रीमति कल्सुल नाउले बताईन । न्याय दिन त के दिनहु घरमै धम्की दिन आउछन् पीडित कल्सुलले भनिन । बनाउदै गरेको घर समेत बन्न नदिने र यदि अदालतको मुद्दा फिर्ता नलिए ज्यान मार्ने धम्की समेत दिएको पीडित नाउको आरोप छ ।

घटना भएपछि प्रहरीले केही व्यक्ति माथि मुद्दा चलाएपनि प्रधानमन्त्री शुसिल कोइराला प्रधानमन्त्री हुदा राजनीतिक मुद्दा हो भन्दै फिर्ता लिईएको पिडितको भनाई छ । जिल्ला अदालतले न्याय दिलाउन नसकेपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको पिडितको भनाई छ ।

सो वारेमा डुडुवा गाउपालिकाका प्रमुख नरेन्द्र चौधरीसंग प्रतिक्रिया माग्दा उहाँले आफु कसैको हत्यामा संलग्न नरहेको जनाउँदै राजनितिक पूर्वाग्रहले फसाउन खोजिएको बताए । उनले भने, आफुले कसैलाई कुनै धम्की नदिएको समेत प्रष्ट पार्दै अदालतमा मुद्दा चलिरहेकोले जब जब पेसीको मिति नजिक आउँछ तब तब मिडियामार्फत आफुलाई बदनाम गर्ने कार्य गर्न खोजिन्छ । आफुहरु गत एक महिनादेखि बाढीपिडितको राहात र उद्धारमा जुटेको जनाउँदै प्रमुख चौधरीले धम्की दिएको भन्ने आरोप गलत भएको बताए ।