कहिलेसम्म जान्छ कांग्रेस–माओवादी गठबन्धन ?

माओवादीको साथ हुन्जेल ओली प्रधानमन्त्री

काठमाडौं । नेपाली राजनीतिमा सरकार आलोपालो चलाउने सहमति पटक–पटक हुँदै आएका छन् ।

तर, एक वर्ष नबित्दै सत्तारुढ दलबीच खटपट देखिने इतिहास छ । केही समयअघि तत्कालीन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार बनाउन सहयोग गरेको कांग्रेसलाई सत्ता हस्तान्तरण गरेर गठबन्धन संस्कारमा नयाँ अध्याय थपिदिएका हुन् ।

प्रचण्ड प्रधानमन्त्री हुँदा गरेको भद्र सहमतिमा चैतसम्म स्थानीय तहको निर्वाचन गर्ने र कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने भन्ने थियो ।

लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले प्रदेश र संघीय संसद्को निर्वाचन गराउने भद्र सहमति थियो ।

तर, ३१ वैशाखमा मात्र प्रदेश नं। ३, ४ र ६ का स्थानीय तहमा निर्वाचन भयो । पहिलो चरणको निर्वाचन भएको १०औँ दिनमा प्रचण्डले राजीनामा दिए ।

प्रचण्डले राजीनामा दिएपछि २३ जेठमा कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा चुनिए । देउवाले पनि दोस्रो चरणमा सबैतिर निर्वाचन गराउन सकेनन् ।

प्रदेश १, ५ र ७ का स्थानीय तहमा मात्र निर्वाचन भयो । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहमा २ असोजमा निर्वाचन हुँदै छ ।

तर, स्थानीय तहको निर्वाचन पूरै गराउन नसके पनि एक चरणको निर्वाचन गराएर प्रचण्ड आफ्नो प्रतिबद्धतामा इमान्दार हुँदै दोस्रो चरणका लागि देउवालाई बाटो खोलिदिए ।

गठबन्धन संस्कृतिमा विश्वास कायम भएपछि देउवा माओवादीकै मत निर्णायक हुँदा प्रधानमन्त्री बन्न पुगे । यही विश्वासमा आउँदो निर्वाचनपछि समेत गठबन्धनलाई निरन्तरता दिने पक्षमा कांग्रेस र माओवादी केन्द्र देखिएका छन् ।

चुनौतीलाई पार गर्दै गठबन्धन

गठबन्धन सरकारसँग संविधान संशोधन गर्ने, संविधान कार्यान्वयनको प्रमुख पक्ष निर्वाचन समयमै हुन्छ कि हुँदैन भन्ने चुनौती थियो ।

तर, आलोपालो सरकारको नेतृत्व गर्दा प्रचण्ड र देउवाले स्थानीय तहको निर्वाचन तीन चरणमा सकाउने क्रममा छन् ,दुई चरणको निर्वाचन भइसकेको छ । प्रदेश नम्बर २ मा निर्वाचनको अन्तिम तयारीमा मधेसकेन्द्रितसहित सबै दल होमिएका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आगामी १० मंसिरमा एकैपटक गर्ने घोषणा सरकारले गरिसकेको छ ।

निर्वाचनका लागि आवश्यक ऐनको तयारी र निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश र प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र टुंग्याउन अन्तिम कसरत गरिरहेको छ ।

संविधान संशोधन प्रस्ताव पास हुन नसके पनि मतदानमा लगेर संविधानको स्वीकार्यता बढाएको तर्क कांग्रेस–माओवादी केन्द्रको छ ।

एक कदम पछि हटेर दुई कदम अघि बढ्ने दाउमा देउवा

माओवादी समर्थनमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार सहज रूपमा चलिरहेका वेला कांग्रेस सभापति शेरबहादुर देउवाले दुईपटकको प्रयासमा माओवादीलाई सरकारबाट अलग गराउन सफल भएका थिए ।

माओवादीलाई अलग गराएपछि देउवाले तत्काल सरकारमा दाबी नगरी प्रचण्डलाई प्रधानमन्त्री बनाएर स्थानीय तहको निर्वाचन गराउँदासम्म सरकार चलाउने भद्र सहमति गरे ।

‘मुद्दा र परिवर्तनलाई संस्थागत गर्नुपर्छ भन्ने साझा मान्यता बोकेको हुनाले कांग्रेस र माओवादीबीचको गठबन्धन प्रदेश र संघीय संसदको निर्वाचनसम्मै जान्छ र जानुपर्छ’ देउवानिकटका नेता एवं एमाले–माओवादी गठबन्धन भत्काउन सक्रियता देखाएका रमेश लेखकले नयाँ पत्रिकासँग भने, ‘किनकि संविधानको पूर्ण कार्यान्वयन नगर्दा मिलेर जानुको विकल्प छैन ।

संघीय संसद्को निर्वाचन र त्यसपछि बन्ने सरकारमा समेत हामी सँगै जान तयार छौँ । संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म सँगै जान्छौँ ।’

१३औँ महाधिवेशनमा कोइराला परिवारको विरासत तोड्न सफल भएपछि देउवा कांग्रेसको सत्तामा पुगेका थिए । उनी कांग्रेसको सभापति हुँदा केपी ओली माओवादी समर्थनमा प्रधानमन्त्री थिए ।

सभापति लगत्तै संसदीय दलका नेतासमेत देउवा चुनिए । चौथोपटक देशको प्रधानमन्त्री बन्ने अभिलासा उनमा थियो । तर, सत्ता परिवर्तन सहज थिएन । माओवादीको साथ हुन्जेल ओली प्रधानमन्त्री भइरहन्थे । तर, देउवाले दुईपटकको प्रयासमा माओवादीलाई सत्ता सहयोगीबाट बहिर्गमन गराउँदै सत्ताकै नेतृत्वमा पुर्‍याइदिए ।

तर, झन्डै ९ महिनापछि सत्ता आफ्नै हातमा ल्याउन देउवा सफल भए । फेरि पनि एमाले र माओवादीलाई मिल्न नदिने दाउमा देउवा छन् । यो समाचार आजको याँ पत्रिकामा प्रकाशित छ ।