मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

लहान । तराई मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् ।

सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला सिमाना, भूमिगत संगठन, निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सीके राउतका गतिविधि अनि दलहरूको शक्ति प्रदर्शनलाई सुरक्षा चुनौतीका रूपमा हेरिएको हो ।

यी जिल्ला बढी आपराधिक गतिविधि हुने क्षेत्रमा पर्ने भएकाले पनि निर्वाचनका लागि यहीअनुरूप रणनीति बनाएको सुरक्षा निकायले जनाएका छन् ।

खुला सिमानाका कारण अपराधीहरू यताउता गर्ने भएकाले स्थानीय प्रशासनले सीमावर्ती सुरक्षा निकायसँग निर्वाचनमा समन्वय हुन गइरहेको जानकारी दिएका छन् ।

स्थानीय सुरक्षा निकायहरूका अनुसार धनुषामा ५३२ मध्ये ३२७, महोत्तरीमा ४१५ मध्ये १३५, सिरहामा ४३१ मध्ये १०९, सप्तरीमा २९५ मध्ये २०७ वटा मतदानस्थल अति संवेदनशील समूहमा छन् ।

भारतसँग सीमा जोडिएका अधिकांश ठाउँ सुरक्षाका दृष्टिकोणले अति संवेदनशीलमा छन्’, धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईं भन्छन्, ‘जसका लागि हामीले भारतीय सुरक्षा निकायसँग समन्वय गरेका छौं ।’

अति संवेदनशील मतदानस्थलहरूको सुरक्षा व्यवस्थालाई बलियो बनाउन जिल्लास्तरीय सुरक्षा संयन्त्र बनाइएको र उक्त संयन्त्र चनाखोपूर्वक बस्ने व्यवस्था सुरक्षा अधिकारीले गरेका छन् ।

भारतसँगका सीमा(नाकाहरूमा केही दिनयता सुरक्षा कडाइ गरिएको छ । निर्वाचनलाई लक्षित गरी आइतबारदेखि ७२ घन्टाका लागि आठै जिल्लाका नेपाल भारत नाका बन्द रहनेछन् ।

खुला सीमाका कारण अवैध हतियार भित्रिन सक्ने सम्भावना हुन्छ’, महोत्तरीका एक प्रहरी अधिकारी भन्छन्, सशस्त्र प्रहरी सीमा सुरक्षा बल र सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मले नेपाल—भारत नाकाबाट हतियार भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरेका छन् ।

महोत्तरीका १५ मध्ये ७ स्थानीय तहका मतदानस्थललाई अति संवेदनशील र ६ वटा संवेदनशील घोषणा गरी स्थानीय प्रशासनले सुरक्षा योजना बनाएको छ, सीमासँग जोडिएका मतदान केन्द्र अति संवदेनशील सूचीमा रहेकोे महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ बताउँछन् ।

उनका अनुसार जलेश्वर, मनरासिसवा, बर्दिबास, बल्वा, रामगोपालपुर, सोनमा र सम्सी गरी सात स्थानीय तहका मतदान केन्द्र अति संवेदनील छन् । गौशाला, भंगहा, पिपरा, औरही, एकडाराबेला र लोहारपट्टी संवेदनशील मतदान केन्द्रका रूपमा छन् । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।