अब देश प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन तयारीमा

कस्तो छ प्रदेश र प्रतिनिधि निर्वाचनका लागि आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोग प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा पनि सक्रिय छ ।

आयोगले मतपत्रको ढाँचालाई अन्तिम चरणमा पुर्‍याएको छ भने आवश्यक नियमावली तथा निर्देशिकाको मस्यौदा तयार गरिरहेको सहसचिव नवराज ढकालले बताएका हुन्।

निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाख ५० हजार जनशक्ति आवश्यक पर्ने आयोगको अनुमान छ । त्यस्तै, निर्वाचनका लागि खरिद गर्नुपर्ने सामग्रीहरूको सूची तयारी पार्ने काम भइरहेको छ।

नङमा लगाउने मसी, छेकाबार, पन्चिङ मेसिन, स्ट्याम्प प्याड, स्ट्याब्लर, डटपेनलगायत ६७ प्रकारका सामग्री निर्वाचनमा आवश्यक पर्छ । आयोगले १६५ निर्वाचन क्षेत्रमा १८ हजार ६ सय मतदान केन्द्र तय भएको जनाएको छ ।

प्रदेश र प्रतिनिधिसभाको कानुन तयार

संसद्ले स्थानीय तहको निर्वाचन ऐन, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन ऐन पारित गरिसकेको छ । यी तीनवटै ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भएर कानुन पनि बनिसकेको छ ।

प्रदेश नं. २ बाहेकका ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । नयाँ ऐनअनुसार आगामी १० र २१ मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ ।

राष्ट्रिय सभा विधेयक संसदमा

सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्बन्धी विधेयक बुधबार संसद्मा दर्ता गरेको छ । प्रदेश र प्रतिनिधिसभा गठन भइसकेपछि मात्र राष्ट्रिय सभाको निर्वाचन हुने संवैधानिक व्यवस्था छ ।

दुवै संसद् गठनपछि मात्रै राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने भएकाले यो विधेयक ढिलो गरी सरकारले संसद्मा दर्ता गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका ५५० सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख १५०६ गरी दुई हजार ५६ जना मतदाता हुनेछन् ।

संविधानअनुसार राष्ट्रिय सभामा हरेक प्रदेशबाट आठ–आठजना र राष्ट्रपतिले मनोनीत गर्ने तीनसहित ५९ जना सदस्य रहने व्यवस्था छ ।

राष्ट्रिय सभा गठन भइसकेपछि मात्र प्रतिनिधिसभा र राष्ट्रिय सभा सम्मिलित संघीय संसद् गठन हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्यसम्बन्धी विधेयक संसद्को राज्यव्यवस्था समितिमा दफावार छलफलका लागि जानेछ ।

समितिबाट टुंगो लगाउँदै यही संसद्ले राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्बन्धी विधेयक टुंगो लगाउनुपर्नेछ ।

कांग्रेसले २ असोजपछि मात्रै तयारी थाल्ने

प्रदेश सभा र प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाउने कांग्रेसको संसदीय बोर्ड नै अहिलेसम्म गठन भएको छैन ।

रमेश सापकोटारकांग्रेसले प्रदेश नं. २ को स्थानीय निर्वाचन सकिएलगत्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी थाल्ने भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने- ‘प्रधानमन्त्रीसहित शीर्ष नेतृत्व प्रदेश नं. २ मा व्यस्त हुनुहुन्छ । शनिबारसम्म सबै नेताहरू फर्किएपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमै ध्यान केन्द्रित हुन्छ, केन्द्रीय कार्यालयका, नेताहरू फर्किएपछि आराम नगरी १० र २१ मंसिरको चुनावी तयारीमा लाग्नुहुन्छ ।’

के–के छ गर्नुपर्ने तयारी ?

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय समिति बैठक बसेर घोषणापत्र तयारी र प्रचारप्रसार समिति बनाउने तथा संसदीय बोर्ड गठन गर्ने तयारी कांग्रेसको छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले भने हामीले उम्मेदवारको टुंगो लगाउने संसदीय बोर्ड गठन गरेर समयमै टिकट टुंग्याउन सकेनौँ भने फेरि पनि निर्वाचनको परिणाममा असर गर्छ । समयमै टिकट दिनुपर्छ । यसका लागि पार्टीभित्र वैधानिक संरचनालाई छिटो पूर्णता दिनुपर्ने छ।’

कांग्रेसमा पदाधिकारी ६ जना, केन्द्रीय समितिले मनोनीत गर्ने आठजना र संसदीय दलको नेता पदेन सदस्य हुने गरी संसदीय बोर्ड गठन गर्ने व्यवस्था छ ।

दीर्घकालीन गठबन्धनकै पक्षमा कांग्रेस–माओवादी

कांग्रेसले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा माओवादीसँग केही ठाउँमा चुनावी तालमेल गरेको थियो । तर, तेस्रो चरणअन्तर्गत प्रदेश नं। २ मा मा अपेक्षा गरिएजति तहमा तालमेल हुन सकेन ।

१३६ मध्ये यी दुई दलले निजगढ र धनुषाको एउटा नगरपालिकामा मात्र चुनावी तालमेल गरेका छन् । तर, प्रचण्डपछि शेरबहादुर देउवाले आलोपालो सत्ता चलाएका यी दुई दलबीच प्रदेश र प्रतिनिनिधि निर्वाचन मिलेरै लड्ने तयारी छ । नेताहरूले नै दीर्घकालीन गठबन्धनलाई प्राथमिकता दिइरहेका छन् ।

प्रदेश संरचनाविहीन कांग्रेस, फेरि केन्द्र नै हाबी

प्रदेश सभाको निर्वाचन निकट आए पनि कांग्रेस आफैँ भने प्रादेशिक संरचनामा गएको छैन । ०७२ मा भएको १३औँ महाधिवेशनमा सात प्रदेश प्रत्येकबाट दुई–दुईजनाको दरले केन्द्रीय सदस्य निर्वाचन गर्नेबाहेक कांग्रेसले प्रादेशिक संरचना गठन गर्न सकेको छैन । यसपटक प्रदेश सभाको टिकट दिन पनि केन्द्र नै हाबी हुने देखिएको छ ।

एमालेले सुरु गर्‍यो प्रदेश र केन्द्रको निर्वाचन तयारी

आकांक्षीको नाम सिफारिस गर्न १३० प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी र ३३० प्रदेश सभा निर्वाचन समन्वय कमिटी गठन गरिने ।

शुरोजंग पाण्डेरएमालेले आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले दुवै निर्वाचन तयारी भइसकेको जनाउँँदै असोज पहिलो साताबाट थप कामलाई तीव्रता दिइने बताए ।

असोज पहिलो साता केन्द्रीय कमिटी बैठक

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन तयारीबारे छलफल गर्न एमालेले ६, ७ र ८ असोजमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठकले उम्मेदवार चयन, घोषणापत्रको मस्यौदा, पार्टीले अघि सार्ने एजेन्डालगायत समग्र विषयमा छलफल गर्ने एमालेले जनाएको छ ।

सूर्य थापाले भने- ‘दुवै संसद्को निर्वाचनलाई समग्र मार्गदर्शन गर्ने गरी बैठकमा छलफल हुनेछ, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख बैठकपछि तयारीका सबै काम तीव्र ढंगले अघि बढ्नेछन् ।’

माओवादीमा उम्मेदवारको सिफारिस आउन थाल्यो

जिल्लाले प्रदेश कमिटी हुँदै केन्द्रमा उम्मेदवारको सिफारिस गर्दै छन्, केन्द्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्दै छ ।

वीरेन्द्र ओलीरमाओवादी केन्द्रमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारका आकांक्षीको जिल्लास्तरबाट सिफारिस आउन थालेको छ ।

जिल्लाबाट प्रदेश कमिटी हुँदै केन्द्रमा धमाधम सिफारिस आउन थालेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् ।

उनले भनिन्-‘हामी अहिले प्रदेश नं. २ को स्थानीय निर्वाचनमा केन्द्रित छौँ, २ असोजमा निर्वाचन सकिएलगत्तै संघ र प्रदेश निर्वाचनमा लाग्नेछौँ ,उम्मेदवारको सिफारिससँगै अहिले घोषणापत्र तयार गर्ने काम भइरहेको उनको भनाइ छ ।’

दोस्रो जनआन्दोलन पक्षधरतासँग मात्र तालमेल

आगामी निर्वाचनमा माओवादीले दोस्रो जनआन्दोलन पक्षधरतासँग मात्र तालमेल गर्ने निर्णय गरेको छ । संघीयताविरोधी जनमोर्चा र राप्रपासँग तालमेल नहुने, कांग्रेससँग आवश्यकताअनुसार संघ र प्रदेश निर्वाचनमा तालमेल हुने भुसालले जानकारी दिइन् ।

प्रतिनिधिसभा निर्वाचनमा अधिकांश गृहजिल्लाबाट उठ्ने तयारी

आगामी प्रतिनिधिसभा निर्वाचनमा अधिकांश माओवादी नेता आफ्नै गृहजिल्लाबाट उठ्ने तयारी गरेका छन् । अहिलेसम्म अध्यक्ष प्रचण्डले मात्र चितवनबाट उठ्ने घोषणा गरेका छन् ।

अरू नेताले औपचारिक रूपमा कहाँबाट उठ्ने भन्ने विषय सार्वजनिक गरेका छैनन् । नेता नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, वर्षमान पुन, रामबहादुर थापालगायत नेता आफ्नै गृहजिल्लाबाट चुनाव लड्ने तयारीमा छन् ।

माओवादीको घोषणापत्र असोज दोस्रो साता

माओवादी केन्द्रले आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी असोज दोस्रो सातासम्म घोषणापत्र ल्याउने तयारी गरेको छ ।

१० र २१ मंसिरमा हुने दुवै निर्वाचनका लागि समयमै घोषणापत्र ल्याउने माओवादीले जनाएको छ । नेता नारायणकाजी श्रेष्ठको संयोकजत्वमा वर्षमान पुन, मणि थापा, पम्फा भुसाल, विश्वभक्त दुलाल सम्मिलित घोषणापत्र लेखन समिति गठन भएको छ ।

‘असोज पहिलो साताभित्र घोषणापत्र सार्वजनिक गर्ने योजनामा थियौँ,’ श्रेष्ठले भने, ‘तर, प्रदेश नं। २ को निर्वाचनले असोज दोस्रो साताभित्र घोषणापत्र सावर्जनिक गरी जनतासमक्ष पुर्‍याउँछौँ ।’ प्रदेश सभाका लागि सम्बन्धित प्रदेशले नै घोषणापत्र बनाउन सक्नेछन् ।

जनताबाट प्रत्यक्ष कार्यकारीको मुद्दा मुख्य रूपमा उठाउने

माओवादी केन्द्रले आगामी प्रतिनिधिसभा निर्वाचनमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई मुख्य रूपमा उठाउने नेता श्रेष्ठले बताए ।

जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई सहयोग पुग्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा उठाइने भएको छ । समाजवादउन्मुख समावेशी लोकतन्त्रको विकास र देशमा भएको प्रकृतिक स्रोत–साधनलाई अधिकतम प्रयोग गर्न सक्ने विषय घोषणापत्रमा समेटिने भएका छन्।

कस्ता–कस्ता सुझाब आए ?

माओवादीले मजदुर, किसान श्रमजीवी, बुद्धिजीवी, नागरिक समाज, विद्यार्थी, व्यवसायी, पत्रकार, शिक्षक, कलाकारलगायतलाई २५ भदौभित्र घोषणापत्रमा सुझाब उपलब्ध गराउन आह्वान गरेको थियो । देशको राष्ट्रियता कमजोर भएको भन्दै बलियो बनाउन विभिन्न किसिमका सुझाब आएको श्रेष्ठले बताए ।

श्रेष्ठले भने- ‘राजनीतिक अस्थिरताधेरै  भएको भन्दै जनताले जनताबाट प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको हुनुपर्छ, शिक्षा, स्वास्थ्यलाई मौलिक हकका रूपमा राख्नुपर्ने, आमश्रमजीवी जनताको पक्षमा हुने अर्थतन्त्रको मोडल अपनाउनुपर्नेलगायतका सुझाब आएका छन् ।’  यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।