प्रदेश २ निर्वाचनः पुरानै पार्टीलाई विश्वास

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको मतपरिणामले अहिले पनि ग्रामीण भेगमा पुरानै पार्टीमाथि जनविश्वास रहेको देखाएको छ । सहरी तथा राजमार्ग क्षेत्रको मत सबै पार्टीलाई गएको छ ।

धनुषाका १८ स्थानीय तहमध्ये १२ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामले कांग्रेस अगाडि देखाएको हो ।

कांग्रेसले ५ स्थानमा विजय हासिल गरेको छ, एमालेले तीनवटा स्थानीय तह जितेको छ । संघीय समाजवादी फोरमले दुई स्थानमा जित हात पारेको छ भने राजपा नेपालले एक स्थानमा मात्र मतपरिणाम आफ्नो पक्षमा पारेको छ ।

जनकपुर उपमहानगरपालिकासहित ६ स्थानीय तहमा मतगणना जारी छ । जनताको मत पुरानै पार्टीलाई बढी गएको मतपरिणामले देखाएको छ ।

धनुषाधाम नगरपालिकाको मेयर तथा उपमेयर कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् ।

क्षिरेश्वर नगरपालिकामा पनि कांग्रेसले मेयर तथा उपमेयर जितेको छ । मिथिला बिहारी नगरपालिका मेयर/उपमेहयमा एमाले विजयी भएको छ ।

संघीय समाजवादी फोरमले गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा विजय प्राप्त गरेको छ ।

गणेशमान चारनाथ नगरपालिकामा फोरम मेयरमा र माओवादी केन्द्र उपमेयरमा निर्वाचित भएको छ । लक्ष्मीनिया गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमा फोरम विजयी भएको छ ।

धनुषामा माओवादी केन्द्रको अवस्था पनि कमजोर देखिएको छ । हालसम्म माओवादी केन्द्र सहिदनगर नगरपालिकाको मेयर उपमेयरमा निर्वाचित भएको छ ।

जनकपुर उपमहानगरपालिकामा राजपा नेपाल मेयरमा कांग्रेसलाई तीन गुणा बढी मतले पछि पारे पनि अन्य तहमा राजपाको उपस्थिति राम्रो छैन ।

पर्साका ६ तहको नजिता सार्वजनिक

पर्साका १४ स्थानीय तहमध्ये १ नगरपालिका र ५ गाउँपालिकाको परिणाम सार्वजनिक भएको छ ।

त्यसमा माओवादी केन्द्रले दुई, कांग्रेस, फोरम नेपाल, एमाले र संघीय समाजवादी पार्टीले एक एक स्थानीय तहमा जितेका छन् ।

पर्सागढी नगरपालिकामा कांग्रेस विजयी भएको छ । जिल्लामा ३ वटा नगरपालिका छन् ।

रौतहटमा ११ तहको परिणाम सार्वजनिक

रौतहटका १८ स्थानीय तहमध्ये शुक्रबार साँझसम्म ११ तहको परिणाम सार्वजनिक भएको छ ।

कांग्रेसले चन्द्रपुर, गढीमाई, परोहा, फतुवा विजयपुर, राजदेवी नगरपालिकामा विजय भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार यमुनामाई गाउँपालिका र मौलापुर नगरमा विजयी भएका छन् ।

संघीय समाजवादी फोरमका उम्मेदवार बौद्धिमाई, इसानाथ, देवाही गोनाही नगरपालिकामा विजयी भएका छन् भने राजपा नेपाल गौर नगरपालिकामा विजयी भएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घर रहेको गौर नगरमा एमाले दोस्रो स्थानमा छ ।

चन्द्रपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ । त्यस्तै, उपमेयरमा एमाले विजयी भयो ।

ससुरा मेयर, बुहारी उपमेयर

रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेसका मेयरमा काकाससुरा रामचन्द्र चौधरी र उपमेयरमा बुहारी रामरती चौधरी विजयी भएका छन् ।

०४३ सालदेखि राजनीतिमा सक्रिय मेयरमा विजयी चौधरी नेविसंघ, तरुण दलको विभिन्न पद सम्हालेर चारपटक कांग्रेस महासमिति सदस्य भएका व्यक्ति हुन् ।

१० तहको नतिजा सार्वजनिक, १० बाँकी

सर्लाहीको २० वटा स्थानीय तहमध्ये १० स्थानको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले ४ सिट, राजपाले ३, संघीय समाजवादी फोरम नेपालले १, लोकत्रान्त्रिक फोरमले १ र माओवादी केन्द्रले १ स्थानमा जितेको छ ।

कांग्रेसले बसबरिया, धनकौल गाउँपालिका, रामनगर, हरिपुर्वा नगरपालिकामा जितेको छ ।

राजपाले नेपालको बलर नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिकामा जितेको छ भने संघीय समाजवादी फोरमले पर्सा गाउँपालिका, लोकत्रान्त्रिक फोरमले विष्णु गाउँपालिका, बाग्मती नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

एमालेले भने खाता खोल्न सकेको छैन । बाँकी १० स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ ।

सप्तरीमा कांग्रेसको अग्रता

उता, सप्तरीमा कांग्रेसले अग्रता कायम गरेको छ । विष्णुपुर र बेल्ही चपेना गाउँपालिकापछि शुक्रबार कांग्रेसले अग्निसाइर कृष्णसवरन गाउँपालिकामा जित हासिल गरेको छ ।राजपा, नेपालले डाकनेश्वरी नगरपालिका, रुपनी गाउँपालिका जितेको छ ।

संघीय समाजवादी फोरमले तिरहुत गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेर खाता खोलेको छ ।एमालेले सप्तकोसी नगरपालिकामा बहुमत वडाध्यक्षसहित प्रमुख, उपप्रमुख पद जितेको छ ।

कांग्रेस र फोरमले ३/३ स्थान, एमाले र राजपाले २/२ स्थान, नयाँ शक्तिले एक स्थानमा अग्रता लिएको छ ।

महोत्तरीका ११ स्थानको नतिजा सार्वजनिक

महोत्तरीका १५ स्थानीय तहमध्ये बुधबार साँझसम्म ११ तहको नतिजा सार्वजनिक भएको छ ।

एकडारा, सम्सी, सोनमा, महोत्तरी गाउँपालिका र भंगहा, रामगोपालपुर, मटिहानी, बलवा, औरही, लोहारपट्टी र गौशाला नगरपालिका गरी ११ स्थानीय तहको नजिता शुक्रबार सार्वजनिक भएको छ ।

महोत्तरीका बर्दिबास, जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिका र मनराको मत गणना जारी छ।
एकडारा गाउँपालिकामा राजपा, भंगहा नगरपालिकामा राजपा विजयी भएको छ ।

रामगोपालपुरमा माओवादी, शिवोदेवी मठिहानी नगरपालिकामा राजपा, वलवा नगरपालिकामा कांग्रेसका मेयर, राजपाका उपमेयर, औरही नगरपालिकामा कांग्रेस मेयर, राजपा उपमेयर, लोहारपट्टी नगरपालिकामा कांग्रेस, गौशाला नगरमा माओवादी, महोत्तरी गाउँपालिकाका प्रमुख पनि कांग्रेसले जितेको छ ।

ग्निसाइर कृष्णसवरण गाउँपालिकामा कांग्रेस वियजी भएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ।