नेपालको समृद्धि,शान्ति प्रक्रिया उदाहरणीयः प्रधानमन्त्री देउवा

शान्ति सैनिक केन्द्रको क्षमता अभिवृद्धिमा मद्दत गर्न आग्रह

अमेरिका । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्ति प्रकिया दुई वर्षअघि संविधान जारी भएसँगै टुंगिएको र शान्ति स्थापनामा नेपालको अनुभव अरु दवन्द्वग्रस्त देशका लागि उदाहरण भएको बताएका छन्।

हालै सम्पन्न स्थानीय तहको चुनावलाई महत्त्वपूर्ण उपलब्धि भन्दै प्रधानमन्त्रीले प्रादेशिक तथा केन्द्रीय चुनावको तयारी भइरहेको पनि उल्लेख गरेका हुन्।

प्रधानमन्त्री देउवाले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भएको उच्चस्तरीय भेटवार्तामा संविधान कार्यान्वयनमा प्रगति भइरहेको प्रसंग उल्लेख गरे उनको भ्रमणदलमा रहेका अधिकारीहरुले बताएका छन्।

न्यूयोर्क आइपुगेको चौथो दिन संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका प्रधानमन्त्री देउवाले आतंकवादको जोखिमदेखि जलवायु परिवर्तन र राष्ट्रसंघको सुधार जस्ता मुद्दाहरुमा धारणा राखेका थिए।

अन्तर्राष्ट्रिय घटनाक्रमबारे बोल्ने क्रममा मध्यपूर्वका कतिपय देशमा भइरहेका जातीय हिंसा र अन्तर्राष्ट्रिय समुदायको दबाब अटेर गर्दै उत्तर कोरियाले निरन्तरता दिएको परमाणु कार्यक्रम प्रति उनले चिन्ता जनाएका थिए।

हाम्रो शान्ति प्रकिया मौलिक थियो र यसको सफलताले सबै पक्षलाई समेट्ने गरी संवादको संस्कृतिलाई स्थापित गरेको छ र यो अरु द्नवन्द्वग्रस्त देशका लागि उदाहरण हुनसक्छ।

नेपालभित्रकै घटनाक्रमको चर्चा गर्ने क्रममा प्रधानमन्त्री देउवाले एक दशकअघि शसस्त्र द्वन्द्व अन्त्य गर्दै शुरु भएको नेपालको शान्ति प्रकिया टुंगोमा पुगेको बताए।

उनले भने-‘नेपालमा सन् २००६ मा शुरु भएको राष्ट्रिय शान्ति प्रकिया सन् २०१५ मा लोकतान्त्रिक र समावेशी संविधान जारी भएसँगै टुंगोमा पुग्यो।’

हाम्रो शान्ति प्रकिया मौलिक थियो र यसको सफलताले सबै पक्षलाई समेट्ने गरी संवादको संस्कृतिलाई स्थापित गरेको छ र यो अरु द्नवन्द्वग्रस्त देशका लागि उदाहरण हुनसक्छ।

शान्ति प्रकियाका मुख्य काममध्ये संविधान लेखन र तत्कालीन माओवादी विद्रोहीका लडाकु तथा हतियार व्यवस्थापनको काम पूरा भएपनि संक्रमणकालीन न्यायसम्बन्धी क्षेत्रमा खासै प्रगति हुन सकेको छैन।

आफ्नो सम्बोधनमा संक्षेपमा उक्त विषयबारे बोलेका प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय जगतसामु व्यक्त गरेका प्रतिबद्धता र दिगो शान्ति हासिल गर्ने लक्ष्य अनुसार त्यस काम अघि बढिरहेको बताएका थिए।

महासभाको बिहानीसत्रमा सम्बोधन गरेका देउवाले अपरान्ह राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गरेका छन्। भेटमा नेपालको शान्ति प्रकिया, हालैका राजनीतिक घटनाक्रम र बाढी पहिरोले पुर्‍याएका क्षतिबारे चर्चा भएका थिए।

भ्रमणदलमा रहेका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भनेराष्ट्रसंघका महासचिवले तीन चरणमा स्थानीय तहको चुनाव सम्पन्न गरेकोमा बधाई दिए।

शान्ति प्रकिया लगभग टुंगिएको र संविधान कार्यान्वयनको विषयमा उनको चासो थियो।

नेपाल हाल राष्ट्रसंघलाई बढी शान्ति सेना उपलब्ध गराउने देशमध्ये छैठौं स्थानमा रहेको छ।

प्रधानमन्त्रीले माहसचिव गुटेरससँगको भेटमा नेपालको शान्ति सैनिक तालिम केन्द्रको क्षमता अभिवृद्धि गर्न मद्दत गर्न आग्रह गरेका थिए।

यसपालि तीन वर्षपछि पहिलो पटक प्रधानमन्त्रीको तहमा राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व भएको हो।(बीबीसिबाट)