समुद्रमा डुङ्गा डुब्दा १४ जना रोहिंज्या शरणार्थीको मृत्युुः ४८ घण्टामा दुई हजारले बांग्लादेश छोडें

म्यानमारको रखाइन राज्यको हिंसाले रोहिंज्याहरु दक्षिणी बांग्लादेश छिर्दै

बंग्लादेश । बंग्लादेशको कक्सेस बजार तट नजिकै समुद्रमा एउटा डुंगा डुब्दा त्यसमा सवार कम्तीमा १४ जना रोहिंज्या शरणार्थीको ज्यान गएको बताइएको छ।

बंग्लादेशी प्रहरीका अनुसार मृत्यु हुनेमध्ये ९ जना बालबालिका र बाँकी महिला थिए । म्यानमारको रखाइन राज्यमा जारी हिंसाका कारण पछिल्लो ४८ घण्टामा करिब २ हजार रोहिंज्याहरु दक्षिणी बांग्लादेश पुगेको विवरण आएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार तटभन्दा केही पर उक्त डुंगा समुद्रमा डुबेको थियो।

एकजना स्थानीय पसल सञ्चालक मोहम्मद सोहेलले आफूले डुंगा डुब्दै गरेको देखेको र त्यसको केही समयपछि छालले शवहरु तटमा ल्याइदिएको सञ्चारमाध्यमहरुसँग बताएका छन ।

यसैबीच म्यानमार सरकारले संयुक्त राष्ट्रसंघका अधिकारीहरुलाई रखाइन राज्यको भ्रमण गराउने योजना पर सारिदिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन्।

खराब मौसमका कारण निर्धारित भ्रमण योजना पर सारिएको म्यानमारका अधिकारीहरुले जनाएका छन्। छुट्टै प्रसंगमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले जवाफदेहिताका लागि कदम नचालेसम्म म्यानमार सरकारलाई हतियार उपलब्ध गराइरहेका देशहरुलाई त्यो बन्द गर्न आग्रह समेत गरेकी छन्।

सुरक्षा परिषद्‍मा बोल्दै उनले रोहिंज्या मुस्लिमविरुद्धको हिंसालाई जातीय सफायाको संज्ञा दिइन् र म्यानमारमा प्रजातन्त्रका लागि लडाइँ गरेकाहरुका निम्ति त्यो लज्जाको विषय भएको बताइन्। उनले दमनमा संलग्नहरुलाई कानूनी दायरामा ल्याइनुपर्नेमा जोड दिइन्।

म्यानमारको सेनाले गरेको कारबाहीका कारण पाँच लाखभन्दा बढी रोहिंज्या मुस्लिमहरु भागेका छन्। उनीहरुमध्ये अधिकांशले अहिले बांग्लादेशमा शरण लिइरहेका छन्, यो समाचार बिबिसीमा प्रकाशित छ ।