नेपाल भारतका अगुवाहरुले दशगजा क्षेत्रमा लागु पदार्थ जलाए, बिरुवा रोपेः एकसाथ भने-लागु औषध निषेध गरौं

लागु औषध कारोबार दुबै देशको साझा समस्याः समाधान खोज्नुपर्नेमा जोड

नेपालगञ्ज । सीमावर्ती क्षेत्रमा हुने लागु औषध कारोवार नेपाल भारतका लागि साझा समस्याको रुपमा फैलिंदै गएकोले यसलाई उन्मुलन गर्न दुबै देशका नागरिक र सरकारी निकाय गम्भीर हुनुपर्नेमा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।

नेपालगञ्जस्थित नेपाल भारतको सीमा क्षेत्रमा हिजो दुबै देशका अगुवा, जन प्रतिनिधिहरु सहभागीहरुले सीमावर्ती क्षेत्रबाट आगु औषधको कारोबार र सेवन गर्न निषेध गरिएको भन्दै त्यस्ता पदार्थहरु जलाएर र त्यहाँ बिरुवा रोपेका छन ।

उनीहरुले लागु पदार्थको कारोबारले समस्या विकराल बनेको भन्दै त्यसको समाधानको लागि दुबै देशले साझा रुपमा समाधानको उपाय खोज्नुपर्नेमा बताए । कार्यक्रममा सहभागीहरुले सीमा क्षेत्रमा चेक जाँचमा समेत कडाई गर्नुपर्नेमा जोड दिए ।

नेपाल–भारतको सीमाना जमुनाहा नाकास्थित दशगजा क्षेत्रमा हिजो आयोजित एक कार्यक्रममा नेपाल र भारतका जनप्रतिनिधि, प्रशासनिक अधिकारी र नागरिक अगुवाहरुले त्यस्तो बताएका हुन् ।

नेपाल–भारत संयुक्त पत्रकार मञ्च तथा ल अफ सोसाइटी बहराइचको संयुक्त आयोजनामा हिजो सम्पन्न ‘नशा उन्मूलन जनचेतना कार्यक्रम’ का सहभागीहरुले सीमावर्ती क्षेत्रमा लागु औषधको कारोवार र सेवन नरोक्नका लागि दुबै देशले ध्यान दिनुपर्नेमा एकमत बताए ।

नेपाल–भारत संयुक्त पत्रकार मञ्च तथा ल अफ सोसाइटी बहराइचको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तथा सांसद् देवराज भारले दुबै देशको आशा र भरोसाको केन्द्र युवा जनशक्ति भएकाले लागु औषधको कुलतबाट अत्यधिक प्रभावित भएको सीमावर्ती भारतीय बजारमा खुलेयाम विक्री हुने लागु औषध र पदार्थको कडाईका साथ नियन्त्रण गरिनु पर्नेमा जोड दिए ।

नेता भारले लागु औषधको कारोबार रोक्न चासो दिइएन भने नेपाल र भारतको भविष्य बर्बादीको बाटोमा जाने भन्दै चिन्ता व्यक्त गरे । उनले सरकारी स्तरबाटै कडा कानून निर्माण गरिनु पर्ने समेत बताए । नेपालमा प्रदेशको निर्वाचनपछि त्यो समस्या विरुद्ध वृहत अभियान सञ्चालन गरिने समेत उनले बताए ।

नेपाल–भारत संयुक्त पत्रकार मञ्च नेपाल च्याप्टरका अध्यक्ष पत्रकार पूर्णलाल चुकेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले लागु औषधको कारोवार र कुलतले सबै जात धर्म र नेपाली, भारतीय जो सुकैलाई नछोड्ने भन्दै यसको कारोबारमा लाग्नेहरुलाई कडा भन्दा कडा कानून बनाएर समस्याको न्यूनीकरण गर्न सकिने बताए ।

उक्त कार्यक्रममा भारतको बहराइच जिल्लाका सहायक अधिकारी एस. के. शुक्ला, अद्र्धसैनिक सीमा सुरक्षा बल एसएसबि ४२ औं बटालियनका कमान्डेन्ट शैलेन्द्र पाण्डे, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्द लाल वैश्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीर बहादुर थापा, भारतका वरिष्ठ पत्रकार मनीराम शर्मा, ल अफ सोसाइटी बहराइचका अध्यक्ष अधिवक्ता संजीव श्रीवास्तव, भारतीय किसान परिषद् शिव पूजन सिंह, नेहरु इन्टर कलेजका प्राचार्य वृज नरेश श्रीवास्तव, डा. सिद्दीकी, रुपईडिहा व्यापार मण्डलका अध्यक्ष अजय मित्तल, नेपालगन्जका मानवअधिकारकर्मी विश्वजीत तिवारी लगायतले नशा उन्मुलनको उपायका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमपछि दशगजा क्षेत्रबाट लागु औषधको कारोबार हटाइएको संकेत स्वरुप त्यस्ता पदार्थहरुलाई दहन गरिएको थियो भने त्यो ठाउँमा वृक्षारोपण पनि गरिएको थियो । कार्यक्रममा नेपाल र भारतका करीब २०० जनाको सहभागिता रहेको थियो ।