सुन तस्करको विवाद: रसुवाका २९ बर्षिय तामाङको हत्या, प्रहरीद्धारा चार पक्राउ

सुन फेला पार्न प्रहरी अझै असफलः अनुसन्धान जारी

काठमाडौं । तस्करीहरुबीच आपसमा सुन लुकाएको विषयमा भएको विवादबाट रसुवा घत्लाङका २९ वर्षीय गगन तामाङको हत्या भएको छ ।

सुन तस्करहरुको लागि भरीयाको रुपमा काम गर्ने रसुवाका तामाङले ८ केजी सुन लुकाएर फरार भएको भन्दै तस्करहरुले दसैँ टीकाको दिन स्वयम्भूमा उनको हत्या गरेका हुन ।

दसैँको टीकाको दिन स्वयम्भूको कारखाना चोकबाट सेतो गुम्बा जाने सडकको बीच खण्डमा पर्ने ढुंगाखानीमा उनको शव प्रहरीले सूचनाका आधारमा फेला पारेको थियो ।

मोटरसाइकल स्ट्यान्ड लगाएर, छेउमा मृतक बसिरहेको जस्तो देखिने गरि शव राखिएको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । प्रहरीका अनुसार उनको सर्टमा प्वाल परेको र रगत लागेको थियो ।

प्रहरीले घटना स्थलबाट फेला पारेको सिमकार्डको आधारमा अनुसन्धान गर्दा सोही दिन साझँ हत्यामा संलग्न छिरिङ नामक एक युवकलाई पक्राउ गरेको थियो ।

छिरिङको पक्राउसँगै प्रहरीले उक्त घटनाको वास्तविकता थाहा पाएको र हत्यामा संलग्न रहेको आरोपमा अहिलेसम्म चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

चीनको रसुवा नाकाबाट मोटरसाइकलमा काठमाडौंसम्म १८ केजी सुनको बोकेर ल्याउने तामाङले ६ केजी सुन लुकाएको भन्दै तस्कारहरुको बीचमा विवाद भएको र तामाङ फरार रहेको जानकारी प्रहरीले पहिले नै थाहा पाएर उनीहरुको खोजी कार्य गरिरहेको बताए पनि प्रहरीले सुन भने अझैसम्म फेला पार्न सकेको छैन । 

सुन तस्करीका नायकेहरुको पोल खुल्ने डरले उनीहरुले पहिले नै तामाङको हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

तस्करहरुले ल्याएको १८ केजी सुन मध्य १२ केजी सुन पक्राउ परेक तस्करहरुको समुहसम्म पुगेको भएपनि ६ केजी सुनको भने फेला परेको छैन । उक्त सुनको बजार मूल्य करिब तीन करोड रुपैयाँ पर्दछ ।

६ केजी सुनसहित सम्पर्क विहीन भएका तामाङलाई तस्कारहरुले एक युवतीको प्रयोग गरेर समात्न सफल भएको र उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।