२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा

काठमाडौं । जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं. १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् ।

उनीहरूलाई बाहिर जान नदिई गणमा राखिएको छ, प्रदेश नं. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका नामले चिनिने सादा पोसाकमा काम गर्ने प्रहरीहरूमाथि शुद्धीकरण अभियान सुरु गरेको हो ।

तर, ती प्रहरीले भने-‘ विना कुनै कारण आफूहरूलाई घर जानसमेत नदिई थुनामा राखेर यातना दिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।’

प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा कार्यरत २४ जना सादा पोसाकमा कार्यरत प्रहरीलाई तालिम दिएको थियो । गत २५ भदौमा उनीहरूलाई तालिम केन्द्रमा तानेर अनुशिक्षण तालिम दिइएको थियो ।

त्यसपछि १० असोजदेखि उनीहरूलाई विराटनगरको रानीस्थित प्रहरी गणमा राखिएको छ । सूचना संकलनको काम प्रभावकारी रूपमा नगर्ने घुमुवा प्रहरीहरूलाई हटाएर पुनर्ताजगी तालिम दिन थालिएको प्रदेश नं. १ का प्रहरी प्रमुख एआइजी पशुपति उपाध्यायले बताए ।

गणभित्र राखिएकामध्ये एक प्रहरीले राजीनामा दिएका छन् । चार असइ, ६ हवल्दार र १३ जना सिपाहीलाई तालिमपछि जिम्मेवारी नदिई बाहिर निस्कन नपाउने गरी गणमा राखिएको छ ।

दसैँमा समेत आफूहरूलाई घर जान नदिइएको र विनाकारण गणभित्र ‘थुनेर’ राखिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, इलाम, मोरङ, पाँचथर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सप्तरी तथा इलाका प्रहरी कार्यालय इटहरी र रंगेलीमा कार्यरत सादा पोसाकका प्रहरीहरूलाई गणभित्र राखिएको हो ।

एआइजी उपाध्यय प्रदेश नं. १ मा गएलगत्तै उनीहरूलाई गणमा राखेका हुन् । उनीहरूलाई छिट्टै जिम्मेवारी दिइने उपाध्ययको भनाइ छ ।

विवादमा घुमुवा प्रहरी

देशभरिकै घुमुवा प्रहरीहरू विवादमा पर्ने गर्छन् । घुमुवाहरू हटाएर प्रहरी मुख्यायले अपराध अनुसन्धान समूह गठन गर्ने योजना बनाए पनि कार्यान्वायन हुन सकेको छैन ।

सूचना संकलनका लागि सादा पोसाकमा काम गर्ने प्रहरीहरू आर्थिक लेनदेनका विवादमा पर्ने गरेका छन् । उनीहरू हाकिमका निकट भएर काम गर्ने र पैसा उठाउने गर्छन् ।

धनुषा र सप्तरीका दुई घुमुवा प्रहरीलाई पनि मुख्यालयले गत महिना झिकाएर अनुसन्धान गरेको थियो । घुमुवा प्रहरीकै गलत गतिविधिका कारण प्रहरी संगठन नै बदनाम हुने गरेको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।