कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी गरेको छ । बोर्डले कक्षा ११ मा धेरै विषय र विषयअनुसार टिचिङ आवर र क्रेडिट आवर फरक रहेकाले लामो समयसम्म पनि तयारी पूरा गर्न सकेको छैन ।

पाठ्यक्रम विकास केन्द्र सिडिसीले लेटर ग्रेडिङमा नतिजा निकाल्न नीतिगत निर्णय गरेर बोर्डमा पठाएको महिनौँ भइसकेको छ ।

सिडिसीका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले कक्षा १० मा भएको व्यवस्थाअनुसार लेटर ग्रेडिङ गर्न बोर्डलाई पत्र पठाइसकेको बताए ।

बोर्डले कक्षा ११ को नतिजा निकाल्ने तयारी गरे पनि ग्रेडसिट, जिपिआरए कति हुने भन्ने टुंगो अझै लगाउन सकेको छैन । राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जयन्ती सत्यालले कक्षा १० मा भन्दा ११ मा बढी जटिल भएको बताइन् ।

उनले भनिन्‘कक्षा १० मा सीमित विषय थिए, क्रेडिट आवर एउटै थियो, कक्षा ११ मा धेरै विषय छन् । त्यसमा पनि टिचिङ आवर र क्रेडिट आवर फरक–फरक भएकाले सबै कुरा मिलाउन समय लागेको हो ।’ यी सबै व्यवस्थापनका लागि प्राविधिक टोलीले काम गरिरहेको सत्यालले बताइन् ।

बोर्डले यस वर्ष कक्षा ११ र अर्को वर्ष कक्षा १२ मा लेटर ग्रेडिङ पद्धति लागू गर्ने तयारी गरेको छ । यस वर्ष कक्षा ११ को उत्तरपुस्तिकाको परीक्षण अंकमा भएको छ ।

अंकमा मूल्यांकन भएपछि त्यसलाई अक्षरमा परिणत गर्ने तयारी छ । कक्षा ११ मा प्राविधिक विषय, साधारण विषयसमेत छन् । कक्षा १० र ११ को पाठ्यक्रमको तालमेलसमेत नभएकाले पनि समस्या भएको छ ।

कक्षा १० मा लेटर ग्रेडिङमा मूल्यांकन भएका विद्यार्थीको यो वर्ष ११ मा पनि लेटर ग्रेडिङमै मूल्यांकन हुन लागेको हो ।

यस्तो छ ग्रेड निर्धारण
९० र त्यसभन्दा माथि ए प्लस
८० र त्यसभन्दा माथि ९० भन्दा कम ए
७० र त्यसभन्दा माथि ८० भन्दा कम बी प्लस
६० र त्यसभन्दा माथि ७० भन्दा कम बी
५० र त्यसभन्दा माथि ६० भन्दा कम सी प्लस
४० र त्यसभन्दा माथि ५० भन्दा कम सी
३० र त्यसभन्दा माथि ४० भन्दा कम डी प्लस
२० र त्यसभन्दा माथि ३० भन्दा कम डी
२० भन्दा कम ई
यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।