गौचन हत्याको छानबिन गुन्डाकेन्द्रित

काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अनुसन्धान प्रहरीले गुन्डामाथि केन्द्रित गरेको छ । घटनामा संलग्न रहेको आशंकामा केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धानका लागि गठिन छानबिन समितिले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार विगतमा कुमार घैँटे समूहमा आबद्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । उनीहरूबाट केही तथ्य खुलेको छ, प्रहरी स्रोत भन्छ, हत्या गुन्डागर्दीमै संलग्न समूहबाट भएको देखिन्छ ।’

सोमबार दिउँसो गौचनको शान्तिनगरमा गोली हानी हत्या भएको थियो । घरबाट कार्यालय जाने क्रममा बाटो कुरेर बसेका आक्रमणकारीले सुरुमा इँटाले हानेर गाडी रोकेका थिए ।

त्यसपछि एक सुटरले गौचनलाई गाडीको अगाडि भागबाट दुई राउन्ड गोली हानेका थिए । अस्पताल पु¥याउने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रहेका गौचन ठूला निर्माण व्यवसायी हुन् । देशका ठूला ठेक्कामा उनी आबद्ध हुँदै आएका थिए ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार गौचनको विगतमा कुमार घैँटे समूहसँग चिनजान थियो । सो समूहलाई उनीबारे धेरै जानकारी भएकाले उनीहरूले नै गौचनको हत्याको योजना बनाएको हुन सक्ने प्रहरीको आशंका छ ।

सोही समूहका समिरमानसिंह बस्नेत भारतमा रहेका मनोज पुनको समूहमा आबद्ध छन् । घैँटे प्रहरी कारबाहीमा मारिएलगत्तै भारत भागेका उनी पुनसँग आबद्ध भएका हुन् । हत्यापछि सोही समूहका लोप्साङ लामा नामक युवकले प्रहरीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।

इन्टरनेट कलहरूमार्फत सोही समूहले अन्य ठेक्दारहरूलाई फोन गरी पैसा माग्दै धम्क्याएका थिए । छानबिन समितिका एक अधिकारीले घटनाबारे केही महत्वपूर्ण जानकारी प्राप्त भएको बताए ।

साथै गौचनलाई केही दिनअघि पैसाको विवादमा थप्पड हान्ने एक समूहमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।