‘संसदीय सुधारवादी दलहरुका विरुद्ध मुठ्ठी चिन्हमा मतदान गरौंः जनवादी व्यवस्था रोजौं’

‘चुनाव उपयोगको नीति मार्फत संगठन निर्माणमा जोड’

(स्थानीय निकायको निर्वाचन सकिएपछिको अवस्थामा अहिले मुलुकमा पुर्न चुनावी माहोल बढेको छ । पूर्व घोषित कार्यक्रम अनुसार निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन यहि मंसिर १० र २१ गते गरी दुई चरणमा दशैभरी निर्वाचन सम्मपन्न गर्ने आफ्नो तयारी गरेको छ । आश्चार्यको विषय यस पटकको निर्वाचनमा संसदीय व्यवस्थालाई स्विकार गर्ने राजनीतिक दलहरु मात्र सहभागि छैनन्, जनवादी क्रान्तिको तयारी गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चा पनि चुनावी प्रतिश्पर्धामा उत्रिएको छ । यसबाट संसदीय राजनीतिक दलहरुमा एक खालको डर र आशंका पनि देखिएको छ । देजमोले भने निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अपनाउदैँ संसदीय व्यवस्थाको व्यापक भण्डाफोर र संगठन निमार्णको कामलाई तिब्र गतिमा बढाएको छ । क्रान्तिकारी पत्रकार महासंघले नेकपा (क्रान्तिकारी माओवादी) का नेता एवं देजमो नेपालका अध्यक्ष सीपी गजुरेल ‘गौरव’सँग निर्वाचनका विषयमा केन्द्रीत रहेर विभिन्न कोणबाट कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादीत अंश……. )

1. निर्वाचनले जनताको जीवनस्तरमा केही परिवर्तन ल्याउँला ? तपाईलाई के लाग्छ ?

-निर्वाचनको मुख्य ध्येय प्रतिगामी संविधान लागू गराउनु हो । उनीहरुले खुल्ला रुपमा भन्दै आएको पनि के हो भने संविधान जारी त भयो तर लागु भएन, स्थापित गराउन सकिएन । त्यसका लागि आयोजना गरिएको हो चुनाव । संघीयता आइसक्यो, केन्द्रबाट थुप्रो पैसा प्रदेश र गाउँमा आउँछ अब जनताले धेरै फाइदा पाउनेछन् भनेर आकर्षित गराएर चुनाव गराइएको छ, तर वास्तविकता त्यसो होइन । उनीहरुको उद्देश्य भनेकै चुनावपछि पश्चगामी संविधान जनताले माने, स्थापित भयो भनेर देखाउनको लागि हो । चुनाव अघि प्रचारप्रसार गरे जस्तो स्थिति चुनावपछि रहदैँन, हुदैन । निर्वाचनपछि अहिलेको भन्दा भ्रष्टाचार, कर, जनताको दैनिक जीवन निर्वाहमा थप जटिलतामा बृद्धी हुने देखिन्छ । यस्तै अन्तरविरोधहरुका कारण नै यो संविधान, राज्यसत्ता र व्यवस्था धराशायी बन्ने छ । जनताले सबै कुरा बुझी सकेपछि यो नै प्रतिक्रान्तिकारीहरुको लागि काल हुनेछ । जनताले विस्तारै बुझ्दै गइरहेका छन् र हामीले निर्वाचनको क्रान्तिकारी उपयोग मार्फत यहि कुरा जनतासँग पुर्याउदै छौ । निर्वाचनले जनताको जीवनस्तरमा कुनै सुधार आउने देखिन्न ।

2. प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको क्रान्तिकारी उपयोग गरेर आमजनतालाई देजमोले दिन खोजेको मुल सन्देश के हो ? कसरी गदैहुनुहुन्छ यो उपयोग ?

-यो संविधानले सबैको माग सम्बोधन गरेको छ, सर्वोकृष्ट संविधान हो भनेर कुप्रचार गरिएको थियो, त्यसको विरुद्धमा यो पश्चगामी संविधान हो, प्रतिक्रियावादी संविधान हो भनेर जनतामा लैजान जरुरी छ । हामी त्यसमा सफल भएका छौं । उनीहरुकै मञ्चमा उभिएर, उपयोग गरेर भण्डाफोर गरेका छौं । पहिलो, भण्डाफोर त अघिपछि गर्न पनि सकिन्थ्यो नै तर चुनावको बेला विशेष प्रकारले गर्न सकिन्छ किनभने त्यसबेला मान्छेहरु सुन्न आउँछन् । दोस्रो, तल्लो तहसम्म नेता कार्यकताहरु नपुगी रहेको अवस्था, माथि मात्रै भएको छाता जस्तो संगठन भइरहेको अवस्थामा चुनावको उपयोग गर्दा गाउँगाउँ, वस्तीवस्ती, टोलटोलमा पुगेर संगठन विस्तार गर्ने योजनाका साथ गयौं । तेस्रो, चुनावलाई बहिष्कार गर्दा पनि जनता भोट हाल्न जाने देखियो । रोक्ने र जाने गर्दा अन्तविरोध सिर्जना हुने देखियो या जनताबाटै कटिने खतरा भयो । त्यसैले हामीलाई भोट हाल्ने जनताको लागि उम्मेदवार उठाईदिएपछि भोट त अर्काको उम्मेदवारलाई हाल्नु परेन नि । त्यसमा पनि, क्रान्तिको अहिले अवस्था भनेको उभार नभई उतारको अवस्था हो । केही सानातिना कमजोरीका बावजुद यो नीति मूलतः सही नै भएको छ । स्थितिमा धेरै ठूलो परिवर्तन नआएकोले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा देजमोले क्रान्तिकारी उपयोग गर्छ ।

3. निर्वाचनबाट देजमोको अवस्था कस्तो होला ? कति स्थानमा जित्ला ?

-पहिलो कुरा हामी निर्वाचनको क्रान्तिकारी उपयोगको जुन नीति अनुसार निर्वाचनमा सहभागि भएका छौ, त्यसका आधारमा हाम्रो लक्ष्य अनुसार हाम्रा सबै उम्मेदवारको जित हुन्छ । हामीले निर्वाचनमा भण्डाफोरको नीति, संगठन निर्माणको लक्ष्य राखेका छौ, त्यो सफल हुन्छ । हाम्रा उम्मेदवारलाई संसदीय व्यवस्थाको विपक्षमा रहने, जनवादी व्यवस्था रोज्ने र क्रान्तिको पक्षमा रहने जनताहरुले जनमत दिनुहुन्छ, हामीले त्यो मतको समेत रक्षा गर्न सफलता पाउने भएकाले जित निश्चित छ ।

4. अहिलेको निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनको नामबाट ठूला दलहरु निर्वाचनमा आएका छन, यसलाई कसरी हेर्नुभएको छ ? यसले मुलुकलाई कस्तो प्रभाव पार्ला ?

-सरकार र प्रतिपक्षमा रहदा केहि समय अगाडिसम्म एक अर्काको अलोचना गरेर नथाक्ने दलहरुबीच निर्वाचनको मुखमा अनौठो ढंगले एकता भएको देखिन्छ । उनीहरु कोहि ‘वाम’ त कोहि ‘लोकतान्त्रिक’ गठबन्धनको नामबाट शक्तिशाली बनेको भन्दै सत्ताँको पहुच बलियो बनाउनका लागि निर्वाचनमा होमिएको देखिएको छ । सत्ताँ मोहको रासमा पग्लीदा कथित कम्युनिष्ट पार्टीको नाम भजाउनेहरु दलहरुको हविगत पनि यि घटनाले उदाङ्गो पारिदिएको छ । उनीहरुमा एकले अर्कालाई कसरी पछार्ने र सत्तामा पुग्ने भन्ने स्वार्थअनुरुप नै यि गठबन्धन भएको प्रष्ट रुपमा देखिन्छ । अझ ‘वाम’भित्र त माके र एमाले दुवै चुनावपछि एकता गर्ने वाचासहित गठबन्धन गर्न पुगेका छन् । गठबन्धन त निश्चित प्रवृत्ति, विचार, सिद्धान्त र दर्शनका आधारमा हुन्छ तर उनीहरुसँग त्यो देखिन्न । एमाले, माके दुवै संसद्दीय सुधारवादी पार्टी हुन् । दुबै गठबन्धनहरु वैदेशिक शक्ति केन्द्रबाट निर्देशित छन् । दुवैले यही संविधान र यही व्यवस्था मान्छन् । दुवैले दलाल पुँजीपतिको एकाधिकारलाई नेपाली अर्थव्यवस्थामा स्वीकारेका छन् । दुवै दक्षिणपन्थी अवसरवादी चरित्रका छन् । दुवैले आ–आफ्ना आधारभूत मूल्य र सिद्धान्त त्यागेर प्रतिक्रियावादीकरण भएका छन् । देशका नदीनाला, प्राकृतिक स्रोत, साधनको दलाली गर्ने, राष्ट्रघाती काम गर्ने दलहरुबीचको गठबन्धन हो यो । देश र जनताको लागि काम गर्नेहरुको होइन । हामीले त्यसको विकल्पमा जनताको अगाडि देजमो नेपाललाई अगाडि सारेका छौ । उनीहरुबाट जनताको सपना र लक्ष्य पुरा हुने अवस्था छैन, त्यसको लागि देजमोले संसदीय व्यवस्थाको भण्डाफोर गर्ने नीतिलाई अगाडि बढाएको छ ।

5. दलहरुबीच अहिलेले बनेको गठबन्धन कसरी सम्भव भयो जस्तो लाग्छ, यसमा कस्को के भुमिका हुनसक्छ ?

-इतिहासका विभिन्न चरणमा मिल्नै नसकेका पार्टीहरु बीचको अपवित्र गठबन्धन कसरी सम्भव भयो भन्दा यो प्रष्ट रुपमा भारतबाटै भएको देखिन्छ । कांग्रेस पहिलेदेखि नै भारतको दलाल थियो भने माकेले आफूलाई नयाँ भारतीय दलालको रुपमा प्रस्तुत भयो । एमाले र अरु दलहरुको स्थिती पनि त्यही हो । यसरी दलाल शक्तिहरुलाई मजबुत बनाउँदै गरेको अवस्थालाई हेर्दा सिक्किमीकरणको खतरा बढ्दै गएको छ । नेपाललाई भारतको नवऔपनिवेशिक बनाउँदै लगेर भारतमै मिसाउने जुन योजना हो, त्यसलाई प्रत्यक्ष फौजी आक्रमणबाट होइन सिक्किमीकरणको बाटोबाट सहज बाटो छ । राजनैतिक शक्तिहरु यति ठूलो मात्रामा भारतीय दलाल भइसकेपछि त्यो बाटो सजिलो छ । दुई तिहाई बहुमत ल्याएर भारतमा विलय गराउने दोर्जेको बाटो अपनाउन सक्ने खतरा अहिलेको अवस्था हेर्दा छ । यही कुरा जनतालाई बुझाएर आन्दोलन गर्नुको विकल्प छैन ।

6. गठबन्धनका दलहरुले अब नेपालमा बढिमा दुईवटा पार्टीमात्र रहने बताउँदैँ आएका छन, तपाईलाई के लाग्छ ?

-पार्टी भनेको वर्गको हितको लागि खुल्ने हो । वर्ग हितको लागि जनताहरु संगठित बन्छन् । पार्टी बन्छ । धेरै वर्गहरु भएको देशमा धेरै पार्टीहरु जन्मिने स्वतः हुन्छ । यो वैज्ञानिक नियम नै हो । नेपालमा अहिले विभिन्न वर्गहरु छन् । यहाँ पुँजीपति र सर्वहारा गरी दुइटा वर्ग मात्रै छुट्टिएको भए पार्टी पनि थोरै मात्रै हुन्थ्यो तर यहाँ निम्न, मध्यम, निम्न मध्यमलगायत थुप्रै वर्गहरु छन् । फेरि यहाँ थुप्रै जातिहरु पनि छन्, तिनीहरुले पनि पार्टीहरु खोलेका छन्, संघ संस्थाहरु खोलेका छन् । त्यसैले अहिले नै नेपाल जस्तो देशमा दुई तीन पार्टीहरु मात्रै बन्ने सम्भावना छैन ।

7. तपाईहरु निर्वाचनको तयारीमा जुट्नु भएको छ, मधेसमा यो निर्वाचन प्रतिको आकर्षण कस्तो छ?

-अहिले प्रतिक्रान्ति हाबी छ, प्रतिक्रान्ति गर्ने पार्टीहरु नै हाबी छन् । वर्गीय चिन्तन, उत्पीडनका हिसाबले क्रान्तिकारीलाई समर्थन गर्नुपर्ने हो जनताले तर प्रतिक्रान्ति हाबी रहेको अहिलेको माहोलको भुलभुलैयामा जनता पनि परिरहेका छन् । प्रतिक्रान्तिवालाहरुले खसी ढालेर, राँगा ढालेर, भोज भतेर लाउने, धोती बाँड्ने काम गरिरहेका छन् । प्रतिक्रान्तिकारीहरुले चुनाव जित्नका लागि साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरिरहेका छन् । हामी उनीहरुको त्यो प्रवृत्तिको भण्डाफोर गरिरहेका छौं । क्रान्तिकारीहरुले यस्तो प्रतिकूलताकै बीच चुनाव उपयोगको नीति लिएकोले क्रान्तिकारीको पक्षमा माहोल देखिएको छैन तर शुन्य भएको स्थिति भने होइन । देजमो पछिल्लो चरणमा बनेको हो । यो स्थापित हुन केही समय लाग्छ नै तर पनि तराईमा र देशैभरीबाट जनताहरुको राम्रो समर्थन देजमोलाई रहेको देखिन्छ ।

8. मधेसी जनताको अगाडि देखिएका समस्या र मुक्ति कसरी देख्नुहुन्छ ?

-मधेसमा दुईटा उत्पीडन छ । पहाडीया अहंकारवाद पनि मधेशमा केही न केही छँदैछ । लामो समयसम्म एउटै समुदायले शासन गर्दै आएको हुनाले राज्य सञ्चालनमा तराईका जनताको सहभागिता कमि भएको छ । यसले गर्दा त्यहाँको भाषा, संस्कृतिमा हस्तक्षेप भएकै छ । यसबाट पनि मुक्ति चाहिन्छ नै । तर भारतीय विस्तारवादबाट भइरहेको उत्पीडनबाट मुक्ति पनि उत्तिकै जरुरी छ । यी दुइटै उत्पीडनबाट मुक्तिको लागि जनताको चेतना विकास हुन जरुरी छ । क्रान्तिकारी शक्तिबाट यी दुइटै उत्पीडनबाट मुक्तिको लागि संघर्षमा उत्रन आव्हान, अपिल जारी हुँदै आएको छ । यसको प्रभाव विस्तार हुँदै गइरहेको छ । क्रान्तिकारी धारकै वरिपरि उत्पीडित जनसमुदायहरु गोलबन्द हुँदै गइरहेका छन् । मधेशी जनतालाई उत्पीडनबाट मुक्ति दिने क्रान्तिकारी धार बाहेक अरु छैन ।

9. नेपालमा बाह्य हस्तक्षेप बढ्नुको कारण के होला ?

-मुख्य कारण त आर्थिक विकास हुन नसक्नु हो । अर्को, यहाँका धेरै जसो राजनैतिक पार्टीहरु भारतको दलाली गर्नतिर लाग्नु । नेपालको राष्ट्रिय स्वाधीनताको लागि भारत मुख्य खतरा त हुँदै हो, त्यसका साथै उसका दलाल शक्तिहरुलाई छोड्नै नसक्ने गरी जोडिएका छन् । भारतको विरोध मात्रै गरेर पुग्दैन किनभने भारतको लागि अनूकुल वातावरण बनाइदिने त उसका नेपाली दलाल शक्तिहरुले गरेका छन् । सिक्किमको विलय त सिक्किमकै नेताहरुलाई अगाडि सारेर गराएका हुन् । यहि प्रक्रिया नेपालमा पनि बढ्दै छ । त्यसकारण भारत र उसका दलालहरु बीच अलग मात्र गराएर पुग्दैन प्रत्यक्ष संघर्ष त भारतका दलालहरु विरुद्ध नै गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाको लागि भारतसितको संघर्ष अगाडि बढाउनु पर्दछ ।

तीनतिर खुल्ला सिमाना र १९५०को असमान सन्धि अनुसार नेपालमा खुल्ला रुपमा जति पनि भारतीयहरु आएर बस्न सक्नेछ । भारतजस्तो ठुलो देशबाट नेपालजस्तो सानो देशमा त्यहाँको केही अंश जनसंख्या मात्रै आएर बस्दिने हो भने नेपालीहरु त अल्पमतमा पर्ने खतरा छ । यसबाट पनि भारतको प्रभाव ह्वात्तै बढ्ने छ । भारतीयहरु नेपाली हौ भनेर जो बसोबास गर्न आउँछन्, तिनीहरुले भारतकै हितमा काम गर्छन् । उनीहरुको माध्यमबाट भारतले त्यसलाई जनता उठेको भन्नेछन् । भारतले विभिन्न तहमा आफ्ना दलालहरु खडा गरेका छन् । राजनीतिक, प्रशासनिक, सुरक्षा र जनस्तरमा रहेका यस्ता दलालहरुका कारण भारतीय हस्तक्षेप, प्रभाव नेपालमा जबर्जस्त रुपमा बढेर गएको छ ।