पशुपति क्षेत्रमा आजदेखि सवारीसाधन प्रवेश निषेध

जथाभावी पाकिङ गर्न नपाइने

काठमाडौं । पशुपति क्षेत्रभित्र अब जथाभावी रुपमा सवारीसाधनको प्रवेश निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर हाताभित्र जथाभावी पार्किङ र सवारीसाधनको प्रवेशका कारण दर्शन गर्न जाने यात्रुलाई असहज भएको भन्दै (बुधबार) आजबाट चार शिवालय (वनकाली) देखि उत्तरतर्फको भागसम्म सवारीसाधनको प्रवेश तथा पार्किङ निषेध गरेको छ।

पशुपति क्षेत्रको व्यवस्थापनका लागि गत असोज ३० गते बसेको महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाका पदाधिकारीसहितको संयुक्त बैठकले उक्त क्षेत्रभित्र सवारीसाधन प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणामूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ भने दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने सवारीसाधनलाई एकतर्फी रुपमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ, तर शव वाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने चल्न पाउने बताइएको छ ।

पशुपति विकास कोषले पार्किङको लागि पनि निश्चित स्थान तोकेको छ । कोषले वनकाली चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको बताएको छ । कोषले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउने काममा सबैलाई सहयोग गर्न अनुरोध समेत गरेको छ ।

मन्दिर श्रोतका अनुसार पशुपतिमा वार्षिक ९० लाखदेखि एक करोडको हाराहारीमा स्वदेशी तथा विदेशी तीर्थयात्रीहरु दर्शन गर्न आउने गरेका छन । उनीहरुको सहजताका लागि सवारीसाधन निषेधित क्षेत्र बनाउन लागेको उसले जनाएको छ ।

ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका रुपमा रहेको पशुपति क्षेत्रको संरक्षण गरी धेरैभन्दा धेरै तीर्थयात्रु भित्र्याउने लक्ष्य कोषले राखेको र त्यहि अनुसार व्यवस्थित गर्न लागेको बताइएको छ ।

पशुपति क्षेत्रभित्र घर भएका व्यक्तिलाई भने सवारी पासको व्यवस्था गरिएको छ, मृतक र मलामीलाई चार शिवालयबाट नै वाग्मती नदीमा दाहसंस्कारका लागि लैजाने व्यवस्था मिलाउन लागेका छौँ, तिर्थालुको सुरक्षाका लागि महाशाखाले १८ र कोषले १५ सुरक्षाकर्मी नियमित खटाएको छ, हामीले राम्रो व्यवस्थापन गर्न खोजेका छौ, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा प्रदीप ढकालले भनें ।