इपिएल क्रिकेटको उपाधि विराटनगरको पोल्टामाः एक रनको रोमाञ्चक जित

पारस खड्का भए म्यान अफ द फाइनल’

काठमाडौँ । त्रिवि कीर्तिपुरको खेल मैदानमा सञ्चालन भैरहेको एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले हात पारेको छ ।

भर्खरै सकिएको इपिएल क्रिकेट खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विजेता भएको हो ।

विराटनगर वारियर्सले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो भने एकसय ५० रनको विजय लक्ष्यका साथ मैदान उत्रेको शरद भेषवाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।

खेलको अन्तिम २ ओभरमा टिक्न नसक्दा भैरहवा जितबाट विमुख भयो । अन्तिम दुई ओभरमा मात्र भैरहवाले ५ विकेट गुमाएको थियो ।

अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रन चाहियो तर ३ रन मात्र जोड्न सक्यो र एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो ।

शुरुवातमा राम्रो प्रदर्शन गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको थियो।

भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई÷दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक÷एक विकेट लिएका थिए । प्रतियोगितामा ‘म्यान अफ द फाइनल’ विराटनगरका कप्तान खड्का घोषित भएका छन ।

पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा पनि हारेको थियो ।