वित्तीय संस्थामा देखिएको अभाव कम गर्न राष्ट्र बैंकद्धारा दश अर्ब रुपैयाँ प्रवाह

बैंकहरुद्धारा कर्जा पुँजी निक्षेपको व्यस्थामा परिवर्तनको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव कम गर्न आइतवार मात्रै रकम पठाएको राष्ट्र बैंकले यसै हप्ता थप १० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ।

थप रकम प्रवाह गर्नका लागि बोलकबोल आह्वान गरिएको केन्द्रीय बैंकका अधिकारीले बताएका छन्। तर राष्ट्र बैंकले गर्न लागेको ऋणपत्र निष्कासनले मात्रै तरलता अभावको अवस्था सहज नहुने बैंकहरूले बताएका छन्। राष्ट्र बैंकले आइतवार ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो।

यसै हप्ता दोस्रो पटक बजारमा रकम पठाउन लागिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । बजारमा तरलता पठाउनका लागि राष्ट्र बैंकले बुधवार १० अर्बको विकास ऋणपत्र खरिद गर्नका लागि बोलकबोल आह्वान गरेको छ।

उनले भने, बजारमा तरलता पठाउनका लागि राष्ट्र बैंकले बुधवार १० अर्बको विकास ऋणपत्र खरिद गर्नका लागि बोलकबोल आह्वान गरेको छ। यो रकम बजारमा गएपछि उच्चदरले बढिरहेको ब्याजदरमा स्थिरता आउने र बजारको आत्मबल बढ्ने अपेक्षा गरिएको थापा बताउँछन्।

तर बैंकहरू भने ऋणपत्रमार्फत रकम प्रवाह गरेर मात्र समस्याको दीर्घकालीन समाधान नहुने बताउँछन्। उनीहरु कर्जा पुँजी निक्षेपको अनुपात सीसीडीसम्बन्धी विद्‍यमान व्यस्थामा नै परिवर्तनको माग गरिरहेका छन्।

बैंकर्स संघका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले भने, हामीले खोजेको लगानीयोग्य तरलता हो। त्यसले लगानीयोग्य तरलता दिँदैन। हाल ब्याङ्कहरूले उनीहरूसँग रहेको निक्षेप र पुँजी जोडेर आउने रकमको ८० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ।

वित्तीय संस्थाहरूले निक्षेपको तुलनामा धेरै कर्जा लगानी गर्दा समस्या आएको बताउँछन् कार्यकारी निर्देशक थापा। उनले भने, १ सय ६० अर्बको कर्जा विस्तार, त्यो कर्जा विस्तारको स्रोत निक्षेपको परिचालन १ सय ६ अर्ब मात्र रह्यो। यसरी ५४ अर्ब बढी कर्जा विस्तार गरे निक्षेप परिचालनको तुलनामा, यो प्रवृत्तिले निरन्तरता पायो भने समस्या ज्युँका त्युँ हुन्छ।

पछिल्लो समय सरकारको ठूलो रकम खर्च नभई थन्केर रहनु र वैदेशिक रोजगारीमा गएकाहरूले पठाउने पैसामा देखिएको कमीलाई पनि कतिपय विज्ञले तरलता अभावका कारकका रुपमा लिएका छन्। बीबीसीबाट