पदिय भागबन्डाले पार्टी एकतालाई असर पर्दैनः प्रवक्ता भुसाल

सरकार नेतृत्व बिषय गौण

भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पदिय भागबन्डाले पार्टी एकिकरणलाई कुनै असर नपार्ने बताएकी छन ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले दुई अध्यक्षबिच भएको सहमती र पार्टी एकता संयोजन संवाद अनुरुप नै पार्टी एकिकरण छिट्टै हुने र पदीय भागबण्डाको बिषयले पार्टी एकिकरणमा कुनै असर नपर्ने बताएकी हुन ।

उनले एमाले र माओवादी केन्द्र बीचको पार्टी एकिकरण पश्चात कसले सरकारको नेतृत्व भन्ने बिषय गौण बन्ने भन्दै पार्टी एकिकरण पश्चात यो उ भन्ने बाँकि नरहने बताइन ।

उनले पहिलो पटक बाम गठबन्धनले बहुमतको सरकार निर्माण गर्न थालेको र सरकार निर्माण पश्चात जनतामाझ जाँदा लिएर गएको घोषणा पत्रलाई आधार मानेर काम गर्दै जाने र देशलाई आर्थिक समृद्धितर्फ लाँदै स्वदेशमै रोजगारको श्रृजना गरि दक्ष जनशक्ति बिदेश पलायन रोक्ने बताइन ।

उनले पछिल्लो समयमा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा देखिएको गडबडीका कारण पार्टी एकिकरण बिषयम केन्द्रित हुन नसक्दा पनि ओली र अध्यक्ष प्रचण्डबिच बिगत देखिनै पार्टी एकिकरणबारे निरन्तर छलफल भइरहेको र स्वास्थ्यमा सुधार भएसँगै पार्टी एकिकरण हुने बताइन ।

देउवा सरकारले जनमतको ख्याल नगरि पराजय पश्चात छोड्नु पर्ने सरकारमा बसरेको गरेको निर्णयहरु नयाँ सरकारलाई अमान्य हुने भन्दै नैतिकताको आधारमा यो सरकारले सत्ता छाड्नु पर्नेमा उनले जोड दिइन ।

नयाँ सरकार गठनमा देखिएको बिभिन्न आलाटालीमा एकपछि अर्को संस्था लागि परेको भन्दै नयाँ सरकार निर्माणमा वर्तमान देउवा सरकार बाधक नबनि बाटो खोल्न उनले आग्रह गरिन ।

बिभिन्न बहानामा सरकारले राष्ट्रियसभाको निर्वाचन ढिला गरि आफ्नो आयु लम्बाउन खोजेको आरोप लगाउँदै भुसालले यथाशिघ्र राष्ट्रियसभाको निर्वाचन गरि नयाँ सरकार गठनको प्रक्रियालाई सहज पार्नु पर्नेमा जोड दिइन ।