सुर्खेतका भट्टराई सशस्त्र प्रहरीको वर्ष जवानका रुपमा सम्मानीत हुनेः साहसी उद्धारकको उपाधि पाँए

हालसम्म डेढ सयबढी शवलाई  बाहिर निकाले

काठमाडौं । सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईलाई वर्ष जवान छनोट गरेको छ । सशस्त्र प्रहरी बलले संगठनमा पुयाएको योगदानको उच्च कदर गर्दै भट्टराईलाई वर्ष जवान (२०७४) छनोट गरेको हो ।

९ माघमा मनाउन लागिएको वार्षिकोत्सवमा भट्टराईलाई वर्ष जवान घोषणा गरिनेछ । सशस्त्रले निशान पाएको ७ कात्तिकलाई स्थापना दिवस मान्दै आएकोमा यस वर्ष निर्वाचनका कारण वार्षिकोत्सव कार्यक्रम ९ माघमा मनाउन लागिएको हो ।

सशस्त्र प्रहरी बलले वर्षभरी उत्कृष्ट काम गर्ने तल्लो तहका कर्मचारीहरू जवानदेखि वरिष्ठ हबल्दारसम्मको कामको उच्च मूल्यांकन गर्दै उनीहरूबाटै वर्ष जवान छनोट गर्दै आएको छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले बिल्लादार जवानमा ऊर्जा प्रदान गर्न २०६९ सालदेखि वर्ष जवान घोषणा गर्न थालेकोमा सशस्त्रले यसलाई निरन्तरता दिँदै आएको छ ।

वर्ष जवान घोषणा भएकालाई सशस्त्र प्रहरी बलले एफपीयू मिसनमा उच्च प्राथमिकता दिँदै आएको छ । यसैगरी, वर्ष जवान घोषणा भएका कर्मचारीका दुई सन्तानलाई कल्याणकारी कोषमार्फत १२ कक्षासम्म अध्ययन गर्न वार्षिक २४ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने गरिको छ । यस्तै, सशस्त्र प्रहरी महानिरीक्षकबाट छातीमा लगाउन वर्ष जवानको ट्यागसमेत प्रदान गर्ने गरिन्छ ।

वर्ष जवान घोषणा भएकालाई संगठनभित्रै पनि उच्च मूल्यांकनका साथ हेर्ने गरिन्छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले २०६६ सालमा सशस्त्र प्रहरी बलमा कल्याणकारी कोषको स्थापना गरेका हुन् ।

यसपटक वर्ष जवान बन्न सफल भट्टराई सुर्खेत दशरथपुर–४ का स्थायी बासिन्दा हुन् । उनी अहिले विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत छन् । सशस्त्र प्रहरी जवान भट्टराईलाई कुनै पनि दुर्घटना भएको अवस्थामा सबैभन्दा पहिला सम्झिने गरिन्छ । उद्धारका क्रममा उनले खेल्ने गरेको साहसिक भूमिका, उनको निडरपन, कार्यकौशलताका कारण उनी पहिलो रोजाइमा पर्ने गरेका हुन् ।

बंगलादेशबाट तीन महिना लामो गोताखोर तालिम लिएका भट्टराईलाई सशस्त्र प्रहरीभित्र साहसिक उद्धारकका रूपमा चिनिने गरिएको छ । तालिमका क्रममा पानीको सतहबाट १८० फिटमुनिसम्म गएको उनको अनुभव छ ।

गत ११ कात्तिकमा राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित घाटबेंसीबाट त्रिशूली नदीमा खसेको थियो । उनै जवान भट्टराई र सहायक हबल्दार शिरबहादुर थापाले ८ घण्टा लगाएर पानीभित्रबाट ३१ जनाको शव निकालेका थिए । उनीहरूको यो कार्यको सर्वत्र प्रशंसा भएको थियो ।

गत असारमा चितवनको भरतपुर महानगरपालिका–२३ नयाँबस्तीमा ३५ फिट गहिराइको इनार सफा गर्न जाँदा अक्सिजन कमीका कारण मृत्यु भएका युवकको शवलाई भट्टराईले नै बाहिर निकालेका थिए । प्रहरी र नेपाली सेनाको टोलीले शव निकाल्न नसकेपछि सशस्त्रको उद्धार टोली त्यहाँ गएको थियो ।

यस्तै, केही समयअघि डुंगा चढेर फेवातालमा माछा मार्न जाँदा डुबेर मृत्यु भएका दुई जनाको शव पनि जवान भट्टराई र सहायक हबल्दार शिरबहादुर थापाले नै निकालेका थिए । उनीहरूले २५ फिट गहिराईबाट तीनै जनाको शव निकाल्न सफल भए । त्यसबेला मृतकको उद्धारमा गएका नेपाल प्रहरीका एक जना जवानको पनि डुबेर मृत्यु भएको थियो । उनको शव पनि यी दुई जनाले नै निकालेका थिए ।

यस्तै, फेवातालमै पानी भरेर डुंगा डुब्दा बेपत्ता भएका दुई जनाको शव पनि ३५ फिट गहिराइबाट भट्टराई र थापाले नै निकालेका थिए । पोखराको सेती नदीमा नुहाउन जाँदा एक जना युवक र एक जना युवतीको डुबेर मृत्यु भएको थियो ।

उनीहरूको शव साता दिनपछि खोंचमा अड्केको अवस्थामा भेटिएपछि सशस्त्रको टोली उद्धारका लागि गएको थियो । त्यहाँ पनि उद्धारका लागि यिनै भट्टराई र सहायक हबल्दार थापालाई परिचालन गरिएको थियो । उनीहरू घटनास्थल पुग्दा शव कुहिइसकेको थियो । उनीहरूले ‘रोपट्विन मेथड’बाट कुशलतापूर्वक शवलाई बाँधेर निकाल्न सफल भएका थिए ।

६ जेठ २०७२ मा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवन चण्डी भन्ज्याङ गाविस–५ स्थित कालीखोलामा पहिरोले बगाउँदा मृत्यु भएका ५० वर्षीय मंगले चेपाङको शव पनि सशस्त्र प्रहरी जवान भट्टराईले साहसिक ढंगले र्याप्लिङ, क्लाइम्बिङ गर्दै त्यस ठाउँमा पुगेर भीरको ढुंगामा अड्किएको शवलाई सजगताका साथ विस्तारै तानेर काँधमा राखी सुरक्षितसाथ भीरबाट ल्याउन सफल भएका थिए ।

धादिङको बैरेनीस्थित त्रिशूलीमा नुहाउन जाँदा डुबेर मृत्यु भएका एक व्यक्तिलाई यिनै भट्टराईले ३० फिटमुनिबाट निकाल्न सफल भएका थिए । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि उनीसहितको सशस्त्र प्रहरीको गोताखोर टोली त्रिशूली नदीमा परिचालन भएको थियो । तर, घिमिरेलाई भने फेला पार्न सकेन ।

वर्ष जवान हुन सफल भट्टराईले दुई वर्षअघि जाजरकोटस्थित भेरी नदीमा भएको बस दुर्घटनाका ४७ जनाको शव पानीबाट निकाल्न उल्लेख्य भूमिका खेलेका थिए । उनले हालसम्म डेढ सयबढी शवलाई विभिन्न ठाउँबाट बाहिर निकालिसकेका छन् । यो समाचार आजको राजधानीमा प्रकाशित छ ।