हेर्नुहोस्, क्रान्तिकारी योद्धाले आफ्नो बुवालाई लेखे यस्तो मार्मिक र तार्किक पत्र

युद्धको लागि मृत्यु वा मुक्ति दुबै स्विकार

मिति: २०७४/११/२१

क्रान्तिकारी अभिबादन।

यो अभिवादन बाबा हुनुको नाताले पाच्य नहुन पनि सक्छ, तपाईलाई लाग्न सक्छ, छोराले यसको सट्टा ढोग लेखोस्, तर हामी क्रान्तिकारीहरु संणताको घेरा भन्दामाथि उठेर तर्क गर्छौ।

बाबा हाम्रो घरमा पनि यो दलाल सरकारले कुनै दिन पक्राउ पुर्जी टाँस्न सक्छ, त्यतिबेला तपाईं कत्ति पनि बिचलित नहुनु बाबा । तपाईलाई लाग्न सक्छ छोरो जेल पर्ने भयो, मर्ने भयो भन्ने, तर तपाईंको छोरो मर्ने होइन जन्मदैँछ भन्ने सोच्नुहोला किनकी हामी क्रान्तिकारीहरु जागरूकतालाई जन्म दिन मान्छौं मृत्युलाई मुक्ति मान्छौं र आत्मसमर्पणलाई गद्दारी ठान्छौ।

बाबा तपाईंको छोरो कुनै बलत्कार गरेर, भ्रष्टाचारी ठहरिएर वा कसैको ज्यान मार्ने उद्योगमा दोषी ठहरीएर हाम्रो घरको ढोकामा त्यो पुर्जी पक्कै टाँसिने छैन।तपाईंको छोरो 2 करोड नेपालीको गाँस, बास, कपासको सुनिश्चितता र बर्गविहिन समाजको पक्षमा वकालत गर्दा राज्यको नजरमा दोषी ठहरिन्छ भने त्यो स्विकार्य छ । बाबा तपाईले सोच्नुहोला, यति अप्ठ्यारो बाटोमा छोरो किन ? तर जटिलतामा समाधान खोज्ने हामी क्रान्तिकारीहरुको बानी हो। थाहा छ बाबा, त्यस्तो पक्राउ पुर्जी अरू कसैले टाँस्दैन त्यो हिजो टाउकोको मुल्य तोक्ने र तोकिने आत्मसमर्पण र अवसरवादीहरुले टाँस्नेछन् ।

के अझै विश्वास मान्नुहुन्छ ति आत्मसमर्पणवादी, भ्रष्टाचारी अवसरवादीले तपाईंको घरको मुलढोकामा टास्ने त्यो काला अक्षरमाथि वास्तविकता र सत्यता लुकेको छ भनेर? के तपाईलाई अझै बिश्वास लाग्छ सयौं शहीदको रगतमा होली खेलेर जनमुक्ति सेनालाई अयोग्य घोषित गरि रकम कुम्ल्याउने भ्रष्टाचारी प्रति? के अझै बिश्वास लाग्छ निर्दोष प्रहरीलाई भाला रोपी बिभत्स हत्या गर्ने चौधरीलाई अंगालो हालि संसद छिराउने दलालले टाँसेको पुर्जीमाथि ?

तर यो कुरा तितो सत्य हो बाबा तपाईको छोरो यो दलाल सरकारले बनाएको संविधान मान्दैन, यो प्रक्रिया मान्दैन, यो बेथिति मान्दैन, यो संसदीय व्यवस्था मान्दैन, यो पैसाले किनिने न्याय मान्दैन। मान्छ त केबल जनताको जनअदालत, जनताको न्यायलय, जनताले अपनत्व गर्ने वैज्ञानिक समाजवाद । तर यो यथार्थ हो बाबा २ करोड नेपालीको मुक्तिको लागि मृत्युलाई हत्केलामा राखेर हारजितको लडाइँ लड्न छोरो अन्तिम पटक रणभूमिमा उत्रिएकै हो ।

उहि तपाईको छोरो

मदन चापागाईं
(लेखक चापागाईं नेकपा (विप्लव) निकटको अखिल क्रान्तिकारी, त्रि.वि. ब्यवस्थापन विभाग प्रमुख हुन् ।)