राजधानीको आठ ठाउँमा रिमोटमार्फत चल्ने ‘स्मार्ट ट्राफिक लाइट’

राजधानीको खुशीको खबर: अब तीन मिनेट बढी जाम बस्नु नपर्ने

काठमाडौँ । राजधानीका विविन्न आठ ठाउँमा रिमोटमार्फत चल्ने ‘स्मार्ट ट्राफिक लाइट’ सेवा सुरू भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले हिजो (मङ्गलबार) राजधानीको आठवटा ठाउँमा ‘स्मार्ट ट्राफिक लाइट’को आरम्भ गरेका हुन् ।

लाइटको आरम्भ गर्दै प्रहरी नायब महानिरीक्षक खनालले राजधानीको अन्य सडक तथा चोकमा समेत त्यस्ता ट्राफिक लाइट छिट्टै सञ्चालनमा ल्याइने बताए । 

उनले रिमोटमार्फत ट्राफिक लाइटको आरम्भ गरे । नारायणगोपालचोकमा पहिलोपटक नयाँ ट्राफिक लाइट जडान गरिएको छ ।

त्यस्तै नयाँबानेश्वरचोक, पुतलीसडकको पद्मोदय मोड र महाराजगञ्जको नारायणगोपालचोकमा ‘इन्टरसेक्सन ट्राफिक लाइट्स’ जडान गरिएको छ ।

२५ लाख रुपियाँको लागतमा पूर्णरूपमा नेपाली प्रविधि र इन्जिनियरहरूको सहयोगमा सीसी क्यामेरासहित नारायणगोपालचोकमा ट्राफिक लाइट जडान गरिएको छ ।

त्यसैगरी नयाँसडक, सुन्धारास्थित काठमाडौँ महानगरपालिका कार्यालय अगाडि, पुतलीसडक कुमारी बैङ्क अगाडि, सोल्टीमोड र दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि पैदल यात्रुका लागि ‘पेडस्ट्रियन ट्राफिक लाइट्स’ जडान गरिएको छ ।

सडक विभाग, काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त प्रयासमा राजधानीका सडकमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो ।

लाइट जडानको जिम्मा पाएका यार्सा टेक्नोलोजीका इन्जिनियर सिद्धिक अन्सारीले ट्राफिक लाइट जडान भएको चोकमा अब सवारी चालकले तीन मिनेटभन्दा बढी समय जाम बस्नु नपर्ने बताएका छन ।

उनले जडान गरिएका लाइटहरू सोलारबाट सञ्चालन हुने र स्वचालित रहेको जानकारी दिए ।

राजधानीको सडकमा ट्राफिक बत्ती बलेपछि ट्राफिक प्रहरीले हातले इशारा गर्नबाट मुक्ति पाउने भएका छन ।

ट्राफिक प्रहरीले उपत्यकाका ३४ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेको भन्दै महानगरपालिका र सडक विभागलाई जानकारी गराएको ट्राफिक महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार चाबहिल, पुरानोबानेश्वर, मैतीदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचौर, हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसीचोक, महालक्ष्मी स्थान, टेकू, गैह्रीधारालगायतका स्थानमा लाइटको आवश्यकता रहेको छ ।

राजधानीमा २०५८ सालमा जापान सरकारको सहयोगमा थापाथलीसहित केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो ।