बाजुरामा हातखुट्टा बाँधेर वडाध्यक्षले मजदुर कुटें

घाइते मनबहादुरको उपचारका हुदैँ

बाजुरा । जगन्नाथ गाउँपालिका–६ का वडाध्यक्ष कटकबहादुर विष्टले स्थानीय एक व्यक्तिलाई कुटपिट गरेका छन्। 

स्थानीय लघु जलविद्युत् आयोजनामा काम गरेको ज्याला माग्दा स्थानीय मनबहादुर विष्टलाई कुटपिट गरेको स्थानीयवासीले बताएका छन्।

भुकाखोला लघु जलविद्युत् आयोजनाका अध्यक्षसमेत रहेका कटकबहादुरले अाफूलाई निर्घात कुटेको मनबहादुरले बताए ।

‘गाउँमा रहेको भुकाखोला लघु जलविद्युत् निर्माण भएको लामो समय बितिसक्दा पनि पारिश्रमिक पाइनँ ।’ उनले भने,-‘ज्याला माग्न जाँदा वडाध्यक्षले गोठमा लगी हातखुट्टा बाँधेर कुटपिट गरे।’

वडाध्यक्षको कुटाइको खबरपछि पिलुचौर प्रहरी चौकीको टोलीले घाइते मनबहादुरलाई उपचारका लागि जिल्ला सदरमुकाम मार्तडी लगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

मनबहादुरले मदिरा खाएर गालीगलौज गरेकाले हातखुट्टा बाँधेको तर कुटपिट नगरेको वडाध्यक्ष कटकबहादुरले बताए। रासस