कान्ति बाल अस्पतालमा उपकरण अभावः सेवा प्रवाहमा गम्भीर समस्या

नवजात शिशु संक्रमणको जोखिममा

काठमाडौं । देशकै एक मात्र केन्द्रीय कान्ति बाल अस्पतालमा उपकरण अभावले सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ । महत्वपूर्ण क्षेत्रको व्यवस्थापनमा बजेट नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो । कान्तिले पानीमा धुने एक्सरे मेसिनका माध्यमबाट सेवा दिइरहेको छ ।

अस्पतालका निर्देशक डा. गणेश राईले आधुनिक समयमा आउँदा पनि कान्तिले वर्षौ पुरानो पानीमा धुने एक्सरेबाट सेवा दिइरहेको बताए । सबै अस्पतालबाट यस्ता एक्सरे मेसिन विस्थापित भइसकेका छन् ।

१५ वर्ष पुरानो उक्त एक्सरे मेसिन एकपटक प्रयोग गर्दा लामो समयसम्म तातिन्छ । ‘हामीले एक्सरे समस्याका विषयमा मन्त्रालय समक्ष कुरा गरेका छौँ,’ राईले भने, ‘आशा छ चाँडै अत्याधुनिक एक्सरे मेसिन ल्याउनेछौँ ।’

सञ्चालनमा भएका उपकरण सबै पुराना

कान्ति बाल अस्पतालमा सञ्चालन भएका उपकरणहरू सबै पुराना भएका छन् । पुराना उपकरणका माध्यमबाट नवजात शिशुलाई सेवा दिँदा विभिन्न खाले संक्रमण हुने सम्भावना बढी हुन्छ ।

नयाँ उपकरण नभएका कारण भएकै उपकरणबाट सेवा दिनुपरेको अस्पतालको तर्क छ । कान्तिमा एमआरआईसमेत छैन । राईका अनुसार सिटी स्क्यान मेसिन ७ वर्ष पुरानो छ । यसको आयु ४ वर्ष मात्रै थियो ।

बजेट नहुँदा समस्या

५७ वर्षअगाडि सोभियत युनिएनले बनाएको भवन बीचमा पुरानो भएपछि २५ वर्ष पहिला जापानले बनाएको थियो । अहिले सोही जापानले बनाएको भवनबाट सेवा सञ्चालन भएको छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार मेडिकल क्षेत्रमा कुन युनिट कस्तो हुनुपर्छ कस्तो सेवा हुनुपर्छ भनेर सोहीअनुसार पूर्वाधार पनि परिवर्तन हुन्छन ।

तर, कान्तिले पुरानै अवस्थामा सेवा दिँदा सेवामा केही कमी भएको छ । बिरामी राख्ने क्याबिन, अप्रेसन थ्रिएटरको कमी आफ्नो ठाउँमा छ । त्यसबाहेक ट्वाइलेटलाई पनि मर्मत गर्दै सञ्चालन गर्नुपर्ने बाध्यता भएको राई बताउँछन् । उनका अनुसार मर्मत गरेर चलाए पनि विगतको भन्दा धेरै राम्रा छन् ।

५२ शैर्‍याको आइसियू, तर ३७ मात्र सञ्चालनमा

जनशक्ति अभावले पूर्ण रूपमा आइसियू सञ्चालनमा ल्याउन नसकेको अस्पतालका निर्देशक डा। राई बताउँछन् । ५२ शैर्‍याको अस्पतालमा हाल ३७ शैर्‍या मात्र सञ्चालनमा छन् । जन्मिने बित्तिकैको बच्चाको उपचार, अप्रेसन गर्नुपर्ने बच्चाको सबैखाले उपचार त्यही हुने भएकाले केन्द्रीय आइसियूको अवधारणा सरकार र स्वयं अस्पतालले बनाएको थियो ।

राईका अनुसार नवजात शिशुका लागि २५ तोकिएकामा १६, १ महिनाभन्दा माथिका बच्चाका लागि १५ तोकिएकामा १२, अप्रेसन आवश्यक पर्नेका लागि १० तोकिएकोमा ७ शैर्‍या मात्रै सञ्चालनमा छन् । २ वटा शैर्‍या भने छट्टै छन् ।

उपचारमा आएका बिरामीलाई सरुवारोग भएको खण्डमा ती दुई बेडमा राख्ने गरी छुट्याइएको छ । स्वास्थ्य मन्त्रालय र कान्ति बाल अस्पतालको योजनाअनुसार ५२ शैर्‍या भए बिरामीलाई सेवा दिन सक्ने ठानेर ०७३ सालमा ५२ शैर्‍याको आइसियू सञ्चालनमा ल्याइएको हो । (अर्जुन अधिकारी /यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।)