संसद् बैठकमा अधिकांश मन्त्री गयलः उपस्थित भएका पनि हाजिर गर्दै भाग्दैः हेर्नुहोस्,

महिला सांसद जैरु बैठकमा नियमित

काठमाडौं । डडेलधुराकी नीरादेवी जैरु संसद् बैठकमा नियमित पुग्छिन् । पहिलो र दोस्रो अधिवेशनको आठमहिने अवधिमा ८२ दिन भएका पूरै बैठकमा हाजिर भइन् । जिल्लाको समस्यादेखि राष्ट्रिय विषयमा भाग लिइन् ।

उनी प्रतिनिधिसभामा नेकपाका तर्फबाट समानुपातिक सांसद हुन् । यही सक्रियताको कदर गर्दै पार्टीले जैरुलाई राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको भूमिका दियो । प्रतिनिधिसभाका ९० महिला सांसदमध्ये बैठकमा नियमित हुने उनी एक्ली हुन् ।

पुरुषतर्फ प्रतिनिधिसभाका सबै बैठकमा सहभागी हुने ललितपुरका कृष्णलाल महर्जन, बझाङका भैरवबहादुर सिंह, दैलेखका राजबहादुर बुढाक्षेत्री छन् । कुल बैठकमध्ये ७१ महिला (७८ प्रतिशत) ६१ वटाभन्दा बढीमा उपस्थित छन् ।

यो कुल हाजिरीको ७५ प्रतिशत हो । एसईईमा ७५ प्रतिशत हाजिर नहुने विद्यार्थी परीक्षा दिन अयोग्य मानिन्छ । यहाँ पनि ७५ प्रतिशत हाजिर नहुने सांसद ९१ जना छन् । उनीहरू बैठकमा ६१ दिनभन्दा कम पुगेका हुन् ।

२०७४ फागुन २१ देखि गत असोज ११ सम्मको हाजिरी विश्लेषण गर्दा ७५ प्रतिशत कटाउने सांसद १ सय ८३ मात्र छन् । प्रतिनिधिसभामा २ सय ७४ सांसद छन् । राजपाका रेशम चौधरी थुनामा छन् । उनको शपथ नै भएको छैन । महिला सांसदमध्ये १९ जना अर्थात् २२ प्रतिशतको हाजिर ७५ प्रतिशत पुगेको छैन । १ सय ८४ पुरुषमध्ये १ सय १२ अर्थात् ६१ प्रतिशतको हाजिरी मात्रै ७५ प्रतिशत कट्छ ।

५० प्रतिशत पनि हाजिर नपुग्नेमा ३० सांसद छन्, २६ पुरुष र चार महिला । महिलातर्फ महिला तथा बालबालिकामन्त्री थममाया थापा र खानेपानीमन्त्री बिनामगरसहित अन्य तीन जना छन् । पुरुषतर्फ ५० प्रतिशत हाजिर नकटाउनेमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा पनि छन् । देउवा २० दिन र दाहाल २२ दिन मात्रै हाजिर छन् ।

सभामुखले अधिवेशनको अन्त्यमा दाहाल नियमित २१ बैठकमा अनुपस्थित भएको भन्दै असोज ११ को अन्तिम बैठकमा उनको बिदा अनुमोदन गराएका थिए । उनी असार ३ देखि २२ सम्मका २१ बैठकमा अनुपस्थित थिए । त्यस्तै देउवा २० दिनमात्रै उपस्थित भएका छन् । उनी जेठ १५ देखि असार ११ सम्मका १५ वटा र असार १२ देखि ३२ सम्मका १७ वटा बैठकमा लगातार अनुपस्थित थिए ।

प्रतिनिधिसभा नियमावलीमा लगातार १० वा त्यसभन्दा बढी बैठकमा अनुपस्थितको विवरण सभामुखले सभाबाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ । ‘अग्रभागमा बस्ने नेताहरू नियमित बैठक नआउने अनि उहाँहरूको अनुपस्थिति हुँदाको पद बिदा अनुमोदन गरेर हामीले जोगाइदिनुपरेको छ,’ एक सांसदले भने, ‘पहिलो र दोस्रो लाइनमा बस्ने नेता नियमित आउने हो भने अरू सांसद त आइहाल्छन् ।’

कांग्रेसका ६३ सांसदमध्ये ३१ जनाको मात्रै हाजिरी ७५ प्रतिशतभन्दा बढी छ । तिनमा १६ जना महिला छन् । दाङकी विमला नेपाली र हुम्लाकी रंगमती शाही ८० दिन र बाग्लुङकी ज्ञानकुमारी छन्त्याल ७९ दिन बैठक पुगे । पुरुषतर्फ दिव्यमणि राजभण्डारी र सत्यनारायण शर्मा खनाल सबभन्दा बढी ७९ दिन उपस्थित भएका छन् ।

कुल सांसदमध्ये ३० जना ४१ दिन मात्रै उपस्थित छन् । तिनमा १० जना कांग्रेस हुन् । कांग्रेसतर्फ कपिलवस्तुका अभिषेकप्रताप शाह १३, बर्दियाका किशोरसिंह राठौर २३, रूपन्देहीका प्रमोदकुमार यादव २५, कास्कीका सूर्यबहादुर केसी २९, विनोद चौधरी ३०, देवेन्द्रराज कँडेल ३४, सर्लाहीका नागेन्द्रकुमार ३७, पदमनारायण चौधरी ३७ र कर्मा घले ४१ दिन मात्र उपस्थित थिए ।

नेकपाको ११५ सांसदको हाजिर ७५ प्रतिशत

नेकपाका १ सय ७४ सांसदमध्ये १ सय १५ जनाको हाजिरी ७५ प्रतिशतभन्दा बढी छ । डडेलधुराकी जैरुपछि महिलातर्फ काठमाडौंकी मायादेवी न्यौपाने ८१, अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला, कैलालीकी लक्ष्मीकुमारी चौधरी र काठमाडौंकी बिनाकुमारी श्रेष्ठ ८० दिन उपस्थित भएका छन् ।

पुरुषतर्फ महर्जन, सिंह र बुढाक्षेत्रीपछि धादिङका खेमप्रसाद लोहनी, दार्चुलाका गणेशसिंह ठगुन्ना, कालिकोटका दुर्गबहादुर रावत ८१ दिन उपस्थित छन् । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सुर्खेतका ध्रुवकुमार शाही, नवराज रावत, ललितपुरका नवराज सिलवाल, तेह्रथुमका विजय सुब्बा, दैलेखका रवीन्द्रराज शर्मा, बाजुराका लालबहादुर थापाको ८० दिन हाजिर छ । १५ जनाको हाजिरी ५० प्रतिशत पनि छैन । तिनमा १३ जना मन्त्री छन् । अध्यक्ष दाहाल र शिवकुमार मण्डल ४१ दिनभन्दा कम उपस्थित छन् ।

राजपाका १७ सांसदमध्ये ७५ प्रतिशत हाजिरी कटाउने ९ जना मात्र छन् । निर्जला राउतको उपस्थिति सबैभन्दा न्यून ३९ दिन छ । अमृतादेवी अग्रहरी सबैभन्दा बढी ७७ दिन हाजिर छिन् । संघीय समाजवादी फोरमका १६ सांसदमध्ये अध्यक्ष उपेन्द्र यादव २७, मोहम्मद इस्तियाक राई ३५, रेणुकुमारी यादव ३२ र सूर्यनारायण यादव १० दिनमात्रै बैठकमा गएका छन् । ७५ प्रतिशत हाजिरी कटाउने सात जना मात्र छन् ।

पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया सबैभन्दा बढी ८१ दिन उपस्थितभएका छन् । महिलातर्फ सबैभन्दा बढी कालुदेवी विश्वकर्मा ७७ दिन हाजिर छिन् । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई ४७ दिन मात्रै उपस्थित छन् । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ७२, राप्रपाका राजेन्द्र लिङदेन ६८, जनमोर्चाकी दुर्गा पौडेल ६२ दिन, स्वतन्त्र सांसद छक्कबहादुर लामा ७६ दिन उपस्थित भएका छन् ।

मन्त्री अधिकांशमा गयल

बैठकमा मन्त्रीहरूकै हाजिरी दर कमजोर छ । उनीहरू आधाभन्दा बढी बैठकमा अनुपस्थित देखिएका छन् । प्रधानमन्त्री केपी ओली २६ दिन मात्र उपस्थित छन् । उनीसहित १३ मन्त्री र १ राज्यमन्त्री ४१ दिन पनि बैठक पुगेनन् ।

थममाया थापा ४०, रघुवीर महासेठ ३८, रवीन्द्र अधिकारी ३८, वर्षमान पुन ३७, मोहम्मद इस्तियाक राई ३५, चक्रपाणि खनाल, जगतबहादुर सुनार ३४, गोकुल बाँस्कोटा र मातृका यादव ३३, बिना मगर २९, उपेन्द्र यादव २७, शक्ति बस्नेत २६ र गोकर्ण विष्ट २४ दिन मात्रै उपस्थित भए ।

राज्यमन्त्री धनबहादुर बुढा ३५ वटा बैठकमा मात्र पुगे । मन्त्रीमध्ये भानुभक्त ढकाल सबैभन्दा बढी ७० वटा बैठकमा उपस्थित भए । शेरबहादुर तामाङ हटेपछि उनी कानुनमन्त्री भएका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल ५७, पद्मा अर्याल ५४, लालबाबु पण्डित ५३, प्रदीप ज्ञवाली ४७, गिरिराजमणि पोखरेल ४६, राज्यमन्त्रीहरू सुरेन्द्रकुमार यादव ४६ र रामकुमारी चौधरी ४५ दिन उपस्थित भए ।

राष्ट्रिय सभामा बढी

राष्ट्रिय सभाको हाजिरी प्रतिनिधिसभामा भन्दा राम्रो पाइएको छ । ५९ सदस्यमध्ये ५४ जनाको हाजिरी ७५ प्रतिशत कटेको छ । फागुन २१ मा सुरु राष्ट्रिय सभाको दोस्रो अधिवेशन असोज ११ सम्मै चलेको थियो । कुल ६३ दिन बैठक बस्यो । ७५ प्रतिशत हाजिर पुग्न ४७ दिन उपस्थित हुनुपर्छ । त्यति पनि हाजिर नहुनेमा गृह, अर्थमन्त्री र अन्य तीन सांसद छन् ।

गृहमन्त्री रामबहादुर थापाको सबैभन्दा कम २७ दिन हाजिरी छ । त्यस्तै अर्थमन्त्री युवराज खतिवडाको ४२, नेकपाका सांसद चन्द्रबहादुर खडकाको ४३, कांग्रेसका दुर्गाप्रसाद उपाध्याय र संघीय समाजवादी फोरमका रामपृत पासवानको ४० दिन मात्र छ । नेकपाका उदया शर्मा पौडेल, खिमकुमार विक, परशुराम मेघी गुरुङ र मनोनीत रामनारायण बिडारीले एकै दिन बैठक छुटाएनन् ।

हाजिर गर्दै भाग्दै

प्रतिनिधिसभामा अधिकांश सांसद हाजिर गर्दै बैठकबाट बाहिरिने गरेका छन् । संसद्मा महत्त्वपूर्ण विषयमा छलफल हुँदासमेत उनीहरू देखिँदैनन् । नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै बारम्बार आवाज उठाउने गरेका छन् ।

कतिपय सांसद बैठक सुरु हुनुअघि नै हाजिर गरेर बाहिरिन्छन् त कोही बैठक सकिएपछि हाजिर गर्न मात्र आउँछन् । ‘केही माननीय त दुई–चार दिनपछि आएर अस्तिको हाजिर गर्नु थियो भन्छन्,’ संसद् सचिवालयका एक कर्मचारी भने, ‘जबर्जस्ती हाजिर गरेर जान्छन् ।’ बैठकमा उपस्थित भएबापत सांसदलाई दुई हजार भत्ता दिइँदै आएको छ ।

(यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।)